मर्यादाहीन मान्छेलाई अध्यक्ष मान्न वाध्य भयौं – सूर्य थापा

मर्यादाहीन मान्छेलाई अध्यक्ष मान्न वाध्य भयौं – सूर्य थापा

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि गम्भीर आरोप लगाएका छन् ।

उनले ‘मर्यादाहीन मान्छेलाई अध्यक्ष मान्न वाध्य भयौं’ भनेका छन् । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका थापाले पञ्चायतले समेत लगाउन नसकेको आरोप प्रचण्डले ओलीमाथि लगाएको भन्दै मर्यादाहीन मान्छेलाई अध्यक्ष मान्न वाध्य भएको बताएका हुन् । 

नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा शुक्रबार बिहानै थापाले प्रचण्डले गैरजिम्मेवार भएर ओलीमाथि आरोप लगाएको समेत बताए । नेकपाको सचिवालयको बैठकका क्रममा प्रचण्डले गत शुक्रबार राजनीतिक प्रतिवेदनका रुपमा आरोपपत्र पेश गरेका थिए । उक्त आरोपपत्रमा ओलीले गरेका भ्रष्टाचार र बेथितिका चाङहरु प्रचण्डले बाहिर ल्याएका थिए । 

उक्त प्रतिवेदनपछि आरोप प्रत्यारोप चलिरहेको छ । प्रचण्डको प्रतिवेदनको जवाफमा ओलीलेसमेत आगामी मंसिर १३ गते बस्ने सचिवालय बैठकमा प्रतिवेदन पेश गर्ने भएका छन् । ओलीले मित्थ्या आरोप लगाएर अपमान गरेको भन्दै प्रमाणित गर्न नसके अध्यक्ष पद छाड्नुपर्ने तर्क पनि गरेका छन् । यो भनाइबाट प्रचण्डको कार्यकारी अध्यक्ष पद धरापमा परेको छ । 

नेता थापाले प्रचण्डलाई आरोप लगाउन कुनै प्रमाणको पनि जरुरी नभएको र मन नपरेपछि जसलाई जे भने पनि हुने रहेछ भनी तर्क गरेका छन् । उनले अहिलेसम्म प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत आरोप लगाउन नसकेका विषयमा प्रचण्डले आरोप लगाएको बताएका छन् । 

थापाले ‘मेरो आसेपासेको काम भएन भनेर सचिवालय बैठकमा अध्यक्षलाई आरोप लगाउनु गलत हो’ भनेका छन् । थापाले महाधिवेशनसम्म बहुमतका आधारमा नभइ सहमतिका आधारमा अगाडि बढ्ने सहमति भएको भन्दै अन्य सबै अफबाह भएको पनि स्पष्ट पारेका छन् । 

प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री ओली पार्टी एकताका लागि स्पष्ट रहेको भन्दै ओली प्रचण्डको पनि अभिभावक भएको बताए ।

प्रचण्ड अनैतिक र गैरजिम्मेवार हुँदा पनि प्रधानमन्त्री ओलीले गल्ती सुधार्न मौका दिने बताएका छन् । उनले पतनको बाटोमा पुगेको माओवादीलाई छहारी दिने काम प्रधानमन्त्री ओलीको भएको भन्दै प्रचण्डलाई फेरि पनि माफी दिएर छहारी दिने स्पष्ट पारेका छन् । 

पार्टीमा भएको किचलोका बेलामा प्रधानमन्त्री ओली चिनियाँ राजदूतसँग भेटेकोप्रति भने थापा फितलो ढंगले पेश भएका छन् । उनले काठमाडौंमा ३० वटा दूतावास भएको भन्दै जोसुकै राजदूत आएर पनि प्रधानमन्त्रीलाई भेटेर शुभकामना दिन सक्ने, छलफल गर्न सक्ने बताए । -हमम्रा कुरा