गौहत्याको आरोपमा बैतडीमा एक जना पक्राउ

गौहत्याको आरोपमा बैतडीमा एक जना पक्राउ

बैतडी । गाई मारेको आरोप बैतडीमा एकजना पक्राउ परेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिका ६ स्थित खानेपानीको मुहानमा ११ वटा गाई मारेर फालेको भेटिएपछि प्रहरीले पुर्चौडी ५ का २४ वर्षीय लक्ष्मण पार्कीलाई पक्राउ गरेको हो ।

घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायव निरीक्षक चन्द्र गिरीले जानकारी दिए । गाईलाई भीरबाट खसालेर मारेको आशंका गरिएको छ ।

पक्राउ परेका पार्कीमाथि गौहत्या अभियोगमा मुद्दा दायर गरेर अनुसन्धान अघि बढाउने प्रहरीले तयारी गरेको छ । प्रहरीले सोही वडाका सुरेश पार्कीको भने खोजी भइरहेको बताएको छ ।

पाटन नगरपालिकाबाट प्रति गाई २५ सयका दरले ताक्लाकोट लैजान्छु भनेर गाई लिएका दुवै जनाले भीरबाट खसालेर गाई मारेको आशंका गरिएको छ । नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापनका लागि २५ सय रुपैयाँका दरले २९ वटा गाई जिम्मा लगाएको थियो ।

शुक्रबार सिगास सामुदायिक वनको भेरी खोला पानीको मुहानमा ११ वटा गाई मृत फेला परेका थिए । मरेका गाईको व्यवस्थापन पाटन नगरपालिकाले गर्ने भएको छ ।