दरबार हत्याकाण्डपछि त्यहाँ रहेका महँंगा रक्सी को रहस्य

दरबार हत्याकाण्डपछि त्यहाँ रहेका महँंगा रक्सी को रहस्य

काठमाडौं। राजा–रानीको निजी निवास कस्तो होला भन्ने कौतूूहल अब बल्ल मेटिने भएको छ । तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र अधिराजकुमार नीराजन शाहको निजी निवास ‘श्रीसदन’ आइतबारबाट नागरिकका लागि खुला गर्न लागिएको छ ।

तत्कालीन राजा वीरेन्द्रले आफ्नो डिजाइनमा तयार गर्न लगाएको सो भवन २०२३ सालमा निर्माण गरिएको थियो । युवराजाधिराज उमेर पुगेपछि अलग बस्नुपर्ने नियमअनुसार श्रीसदन निर्माणपछि राजा वीरेन्द्र महेन्द्र मञ्जिलबाट सरेका थिए । तत्कालीन राजा महेन्द्र उमेर पुगेपछि त्रिभुवन सदनबाट महेन्द्र मञ्जिलमा र तत्कालीन राजा दीपेन्द्र उमेर पुगेपछि श्रीसदनबाट त्रिभुवन सदनमा सरेक थिए ।

नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले श्रीसदन सर्वसाधारणका लागि खुला गरिएको औपचारिक शुभारम्भ गर्ने जानकारी दिँदै भने, “अब सबैको प्रतीक्षा सकिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयमा आएका अवलोकनकर्ताले श्रीसदनका साथै ग्यारेज र गणतन्त्र स्मारकसमेत अवलोकन गर्न पाउनेछन् । ”

कोरोना भाइरसका कारण बन्दाबन्दी सुरु भएलगत्तै नारायणहिटी दरबार सङ्ग्रहालय अवलोकनका लागि बन्द गरिएको थियो । आइतबारबाटै सङ्ग्रहालय पुनः खुला गरिँदै छ । एउटै टिकटबाट नयाँ खुला हुने स्थान पनि अवलोकन गर्न पाइनेछ ।

श्रीसदनमा १२ वटा कोठा छन् । तत्कालीन राजा वीरेन्द्रले निर्माण सम्पन्न भइसकेपछि प्राकृतिक रूपमा देखिने भन्दै भवनबाहिर रङरोगन गर्न दिएनन् । तीनतले सो भवनको भुुइँतलामा तत्कालीन राजा वीरेन्द्र र ऐश्वर्यको निजी कार्यालय, भान्सा कोठा, खाना खाने कोठा ९डाइनिङ हल०० र विश्राम गर्ने कोठा रहेको छ । दीपेन्द्र शाह उमेर नपुगुन्जेल श्रीसदनको भुइँतलामा बस्ने गर्थे। उनी त्रिभुवन सदनमा सरेपछि सो कोठा खाली थियो । भुइँतलामा मदिरा पिउन बारको समेत व्यवस्था थियो । दरबार हत्याकाण्डपछि त्यहाँ रहेका महँंगा रक्सी कसले लग्यो भन्ने अत्तोपत्तो नभएको दरबारका पुराना कर्मचारी सुनाउँछन् ।

श्रीसदनको पहिलो तलामा राजा वीरेन्द्रको शयन कक्ष, रानी ऐश्वर्यको कक्ष र लुगा राख्ने कक्ष हेर्न पाइन्छ । रानी ऐश्वर्यको कक्षमा क्यासेट प्लेयर, गीतका चक्का, टेलिभिजन आदि राखिएका छन् । दोस्रो तलामा तत्कालीन अधिराजकुमार नीराजनको शयन कक्ष र तत्कालीन अधिराजकुमारी श्रुतिको शयन कक्ष छ ।

सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक दाहालले सन् १९३९ मा तत्कालीन राजा त्रिभुवनलाई हिटलरले उपहारस्वरूप दिएको गाडी पनि सर्वसाधारणका लागि खुला गरिने छ ।