हरिद्वारबाट हिँडेरै गड्‍डाचौकी !

धनगढी खबर    

हरिद्वारबाट हिँडेरै गड्‍डाचौकी !

कञ्‍चनपुर । मलिन अनुहार । थाकेर गलेको ज्यान । मंसिरको चिसोमा जीउको एकसरो लुगा अनि हातमा पातलो कम्बल । शुक्रबार कञ्चनपुरको गड्डाचौकी नाकामा यस्तै हुलियामा भेटिए ४१ वर्षीय तीर्थबहादुर सारू मगर ।

घरपरिवारसँगै तिहार मनाउने योजनासहित सुर्खेतको लेकबेंसी नगरपालिका–९ दमार गाउँका सारू मगरले कात्तिक २८ मा भारत उत्तराखण्डको रुद्रप्रयागबाट यात्रा थाले । छोराछोरी र श्रीमतीका लागि नयाँ लुगा र तिहारका लागि मीठोमसिनो खानेकुरा लैजाने उनको योजना थियो ।

तर उक्त योजना रुद्रप्रयागबाट हिँडेको केहीबेरमै भताभुंग भयो । हरिद्वारमा नेपालीहरूबाटै लुटिएपछि उनले न त घरपरिवारसँगै तिहार मनाउन पाए, न परिवारका लागि नयाँ लुगा लैजान । ‘मेरो तिहार त बाटोमै बित्यो, आफ्नै दाजुभाइले लुटेपछि हरिद्वारमै अलपत्र परें,’ उनले भने, ‘शरीरमा भएको लुगासमेत बाँकी राखेनन् ।’

साथमा रहेको ८५ हजार भारतीय रुपैयाँ, चार जोर कपडा, दुई सेट मोबाइल र दुई जोर जुत्ता सबै लुटिएको उनले बताए । हरिद्वारमा लुटिएर अलपत्र परेपछि उनी पैदल हिँडेर सातौं दिनमा गड्डाचौकी नाका आइपुगेका हुन् । दिनभरि हिँड्ने र राति प्रतीक्षालय वा पसलको अगाडि सुत्दै गड्डाचौकीसम्म आइपुगेको उनले सुनाए ।

कसैले केही दिए खाने नत्र भोकै रात काटेको उनको भनाइ छ । ‘एकातिर भोक, अर्कोतिर एकसरो लुगामा रातिको चिसो, निकै गाह्रो भयो,’ करिब २ सय किलोमिटरको दुरी पार गर्न सात दिन पैदल हिँड्दाको पीडा सुनाउँदै उनले भने, ‘एक ठाउँमा बाल आश्रममा पुगेपछि एक छाक खाना र पातलो कम्बल दिए, राति ओढ्न सजिलो भयो ।’ त्यही कम्बल काखीमा च्यापेर उनी गड्डाचौकी आइपुगेका हुन् ।

तिहारको दिन सबैतिर झिलिमिली थियो । साँझपख बाटो वरपरका घरमा देखिने चकमन्नताले उनको मन झनै उदास हुन्थ्यो । ‘घरमै तिहार मनाउने इच्छा थियो, सडकमै रात काटें,’ उनले भने । उनी एक दशकअघिदेखि रुद्रप्रयागमा काम गर्छन् । मजदुरी गर्न त्यहाँ पुगेका उनी पछिल्लो पटक भने गाउँबाट कामदार लैजाने र विभिन्न ठाउँमा काममा लगाउँछन् । ‘यताबाट कामदार लैजाने र उनीहरूको पैसा घरसम्म पुर्‍याउने काम गर्थें,’ उनले भने, ‘अहिले पनि धेरै कामदारकै पैसा बोकेर आएको थिएँ, सबै लुटेर लगे ।’

कात्तिक २८ को साँझ उनी घर फर्किन रुद्रप्रयागबाट बस चढेका थिए । ऋषिकेशमा त्यही बसमा थपिए तीनजना नेपाली । उनीहरू सारू मगरकै छेउमा बसे । एकआपसमा परिचय पनि गरे । दुईजना दाङ र एक कोहलपुरको भन्दै उनीहरूले सारू मगरसँग परिचय गरेका थिए । ‘हामी पनि उतै जाने हो, सँगै जाउँ भने,’ सारू मगरले भने, ‘हरिद्वारमा पुग्नेबित्तिकै चिसो पियौं, त्यो पिउनेबित्तिकै म त बेहोस भएँ । सडकछेउमै लडेको थिएँ ।’

होसमा आउँदा पैसा, कपडा त परै जाओस्, शरीरमा एकसरो कपडा पनि थिएन । लुटिएपछि उनले हिँडेरै भए पनि घर आउने निधो गरे । एक सातासम्मको पैदल यात्रामा एकरदुई छाक मात्रै खाना खान पाएको उनले बताए ।

हरिद्वारमा लुटिएपछि रुद्रप्रयागमा रहेका साथीभाइलाई उनले फोनमार्फत जानकारी गराएका थिए । त्यही जानकारीका आधारमा उनका परिवारले पनि थाहा पाए । घरबाट उनलाई खोज्न आफन्त हरिद्वारसम्म पुगेका छन् । शुक्रबार नाकामा आइपुगेपछि उनलाई कोहलपुरबाट आएका आफन्तले लिएर फर्केका छन् ।कान्तिपुरबाट



शनिबार ०६, मङि्सर २०७७ ०२:४८ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस