पार्टी पुनरगठन दिवसको पूर्वसन्ध्यामा हतियारसहित ‘विप्लव’ समूहका सैन्य लडाकु पक्राउ

पार्टी पुनरगठन दिवसको पूर्वसन्ध्यामा हतियारसहित ‘विप्लव’ समूहका सैन्य लडाकु पक्राउ

विराटनगर : पार्टी पुनरगठन दिवसको पूर्वसन्ध्यामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक जना सैन्य लडाकुलाई प्रहरीले मोरङको उर्लाबारीबाट हतियारसहित पक्राउ गरेको छ। ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ घर भएका ३२ वर्षीय पेम्बा साङ्गे शेर्पा पक्राउ परेका हुन्।

विशेष सूचनाका आधारमा शेर्पालाई उर्लाबारी नगरपालिका–६ तरुण चोकस्थित राधिका माध्यमिक विद्यालय नजिकबाट शनिबार साँझ ७ बजेतिर पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। 

उनका अनुसार पक्राउ गरेर हिरासतमा लिइएका शेर्पा ‘विप्लव’ समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर भएको खुलेको छ। उनले मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बसेर लामो समयदेखि ‘विप्लव’ समूहको गतिविधी सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ। 

पक्राउ परेका शेर्पाको साथबाट मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, म्यागजिन र तीन राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै उनको साथबाट पार्टीको पर्चा र पम्प्लेट तथा अन्य दस्तावेजहरु पनि बरामद भएको एसपी खड्काले जनाए। 

‘पक्राउ परेका व्यक्ति ‘विप्लव’ समूहको सैन्य लडाकु र सेक्सन कमान्डर रहेको खुलेको छ,’ उनले भने, ‘थप कुरा अनुसन्धानपछि खुल्दै जानेछ।’ शेर्पाविरुद्ध थप अनुसन्धान र कारबाही अघि बढाउन प्रहरीले आइतबार हातहतियार खरखजना मुद्दामा म्याद थप गर्ने तयारी गरिरहेको छ।