कैलालीमा ९० दिनसम्म पुग्ने क्षमताको पेट्रोलियम भण्डारण गृह बन्ने

कैलालीमा ९० दिनसम्म पुग्ने क्षमताको पेट्रोलियम भण्डारण गृह बन्ने

नेपाल आयल निगमले ९० दिनको पेट्रोलियम भण्डारण डिपो निर्माण गर्न सुदूरपश्चिम प्रदेशमा अध्ययन थालेको छ । हरेक प्रदेशमा ९० दिनलाई पुग्ने पेट्रोलियम भण्डारण गृह बनाउने सरकारी नीति बमोजिम प्रदेशमा पेट्रोलियम भण्डारण गृह बनाउन प्रस्तावित क्षेत्रको उद्योग मन्त्रीसहितको टोलीले आइतबार अध्ययन अवलोकन गरेको हो ।

नयाँ भण्डारण गृह बनाउन कैलाली जिल्लाको गोदाबरी नगरपालिकास्थित शिवशक्ति महिला सामुदायिक वनको ३० बिगाह जमिनमा प्राप्त गर्ने निगमको प्रारम्भिक तयारी छ । उद्योगमन्त्री भट्ट र निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसहितको टोलीले अवलोकन गरेपछि जग्गा प्राप्तिको थप प्रक्रिया अघि बढाइएको निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयले जनाएको छ ।

सुरक्षा, जमिनको भौगोलिक बनावट लगायतको हिसाबले उक्त क्षेत्र उपयुक्त रहेको निगमको प्रादेशिक कार्यलयले जनाएको छ । सामुदायिक वनको जग्गामा भण्डारण गृह बनाउन दिन सामुदायिक वनको सहमतिपछि वन मन्त्रालयको स्वीकृति दिनु पर्छ भने त्यसलाई मन्त्रिपरषद्ले स्वीकृत गर्नु पर्छ ।

भण्डारण गृह निर्माणकालागि प्रस्तावित जमिनमा सहमति जुटे जग्गा खरिदमा खर्च हुने निगमको ठूलो धनराशी जोगिने निगमको दावी छ ।