प्रिमियर लिगमा बर्न्लेको पहिलो जित

प्रिमियर लिगमा बर्न्लेको पहिलो जित

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलको जारी सिजनमा बर्न्लेले पहिलो जित निकालेको छ ।

तालिकाको १७ औं स्थानमा उक्लिने क्रममा बर्न्लेले गएराति भएको खेलमा क्रिष्टल प्यालेसलाई १–० ले हरायो ।

प्यालेस विरुद्धको खेलमा बर्न्लेलाई विजयी गराउन क्रिस उडले निर्णायक गोल गरे । जितसँगै बर्न्ले ९ खेलबाट ५ अंक जोड्दै रेलिगेशन क्षेत्रबाट माथि उठेको छ ।

गएराती नै भएको अर्को खेलमा साउथह्याम्प्टनले वुल्भरह्याम्पटन वान्डरर्ससँग १–१ गोलको बराबरी खेलेको छ ।

खेलमा साउथह्याम्पटनका थियो वाल्कोटले पहिलो गोल गरेपनि वुल्भरह्याम्पटनका नेटोले बराबरी गोल फर्काए ।

यो बराबरीसँगै साउथह्याम्पटनले तालिकाको तेस्रो स्थानमा उक्लिने अवसर खेर फालेको छ । ९ खेलबाट १७ अंक जोडेको साउथह्याम्पटन तालिकाको पाँचौ स्थानमा रहेको छ ।

२० अंकसहित टोटनह्याम हट्सपर शीर्ष स्थानमा रहँदा समान २० अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ ।

तेस्रो र चौथो स्थानमा रहेका चेल्सी र लेष्टर सिटीको समान १८–१८ अंक छ ।