सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत सूचना तथा प्रसारण विभागले प्रेस पास वितरण तथा नवीकरण जस्ता काम भोलिदेखि शुरू गर्ने भएको छ। २९ असोजमा बन्द गरेको सेवा भोलिदेखि शुरू हुनेछ। तर, सेवा लिन फोनबाट नाम टिपाउनुपर्नेछ भने दैनिक निश्चित कोटा निर्धारण गरिएको छ।
यसरी सेवा लिन हरेक दिन बिहान १० बजेदेखि ११ बजेसम्म फोन नम्बर ०१४११२७१७ मा नाम, काम र सम्बन्धित सञ्चारमाध्यमको नाम टिपाउनुपर्नेछ। नाम नटिपाए सेवा नपाइने उल्लेख छ।
विभागले निकालेको सूचनामा स्वास्थ्य सतर्कताका कारण निश्चित कोटाका आधारमा र फोनमा नाम टिपाएपछि मात्र काम गर्न सकिने बताइएको छ। नाम दर्ता आगामी सात दिनसम्मका लागि हुने र र पुरानो नाम दर्ता भएकोले पनि फेरि नाम दर्ता गर्नुपर्ने विभागको सूचनामा उल्लेख छ।
यसरी नाम दर्ता गराएपछि विभागले दैनिक जम्मा ५ वटा नयाँ प्रेस पास जारी गर्नेछ भने १० वटा नवीकरण गर्ने जनाएको छ।
उपत्यका बाहिरका प्रदेश राजधानीबाट
काठमाडौं बाहिरका पत्रकार तथा सञ्चारमाध्यमहरूका लागि प्रदेश राजधानी अथवा जिल्ला हुलाक कार्यालयबाट सेवा दिइने भएको छ। प्रेस पास तथा अनलाइन सञ्चारमाध्यममा उल्लेख गरिएको ठेगाना कायम भएका आधारमा सम्बन्धित प्रदेश राजधानीस्थित हुलाक निर्देशनालय वा जिल्ला हुलाक कार्यालयबाट प्रेस पास तथा अनलाइन सञ्चारमाध्यम नवीकरण गर्न सकिने व्यवस्था गरिएको विभागको सूचनामा उल्लेख छ।
उपत्यका बाहिरका पत्रकारलाई नयाँ प्रेस पास दिनका लागि सम्बन्धित व्यक्तिको कागजात सङ्कलन गरी विभागबाट प्रेस पास जारी गर्ने र त्यसपछि सम्बन्धित निर्देशनालय वा कार्यालयमा पठाइने व्यवस्था यथावत् रहेको विभागले जनाएको छ।
विभागले प्रदेश-१ को हकमा हुलाक निर्देशनालय, विराटनगर, प्रदेश-२ को जिल्ला हुलाक कार्यालय धनुषा, बागमती प्रदेशको जिल्ला हुलाक कार्यालय मकवानपुर, गण्डकी प्रदेशको हुलाक निर्देशनालय कास्की, लुम्बिनी प्रदेशको जिल्ला हुलाक कार्यालय रूपन्देही, कर्णाली प्रदेशको हुलाक निर्देशनालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि जिल्ला हुलाक कार्यालय कैलाली तोकेको छ।