कप्तान मल्लसहित तीन क्रिकेटरलाई कोरोना संक्रमण

कप्तान मल्लसहित तीन क्रिकेटरलाई कोरोना संक्रमण

नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई संक्रमण पुष्टि भएको हो ।

कप्तान मल्लले आफूलाई संक्रमण देखिएको पुष्टि गरे । ‘सुरक्षा सवधानीको उपाय अपनाएकै थिएँ । कुनै लक्षण छैन’ उनले भने, ‘परीक्षण गराउँदा पोजेटिभ आएछ ।’ उनी अहिले होम क्वारेन्टिनमा नै छन् । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह समेत गरेका छन् ।

बन्द प्रशिक्षणका लागि बोलाइएका २२ मध्ये १८ खेलाडीको बुधबार स्वाब संकलन गरिएको थियो । यस्तै शरद भेषावकर, बसन्त रेग्मी, सन्दीप लामिछाने र सुवास खकुरेलले पनि स्वाब दिएका छैनन् । रेग्मीलाई यसअघि नै कोरोना संक्रमण देखिएकाले स्वाब दिन नआएको क्रिकेट संघ स्रोतले जनाएको छ ।