सरकारले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सगरमाथाको नयाँ उचाइ यसै महिना सार्वजनिक गर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नयाँ उचाइ सार्वजनिकका लागि स्वीकृत प्रदान गरेको मन्त्री अर्यालले बताउनुभयो ।
तर उनले अहिले नै सगरमाथाको उचाइ सार्वजनिक नगरिने बताइन् । विशेष कार्यक्रमको आयोजना गरेर उचाइ सार्वजनिक गरिने उनको प्रतिक्रिया थियो । आर्थिक वर्ष २०६४–६५ बाट शुरु भएको सगरमाथाको उचाई मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछि सरकारले सगरमाथाको औपचारिक रुपमा घोषणाको तयारी गरेको मन्त्री अर्यालले जानकारी दिइन् ।
उनले भनिन्,“सरकारले पहिलोपटक आफ्नै स्रोतसाधानमा सगरमाथाको उचाई मापन गरेको छ । त्यो कार्य अहिले सम्पन्न भएको छ । अब हामी आफैले नापेको सगरमाथाको उचाई औपचारिक रुपमा घोषणा गर्ने चरणमा आइपुगेका छौँ ।”
सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाईमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । सोही सन्दर्भमा सगरमाथाको उचाई पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन गरेको हो ।
यसअघी विभिन्न देशहरुले सगरमाथाको उचाई मापन गर्दै आएका थिए । पछिल्लोपटक सर्वे अफ इन्डियाले सन् १९५४ मा मापन गरी उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ हालसम्म कायम रहिआएको छ ।