अब कसैले अनाथ भएँ भन्नुपर्दैन, सरकार साथमा छः प्रधानमन्त्री अ‍ोली

अब कसैले अनाथ भएँ भन्नुपर्दैन, सरकार साथमा छः प्रधानमन्त्री अ‍ोली

काठमाण्डु । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले कसैले पनि अनाथ भएको महशुस गर्न नपर्ने बताएका छन् । बिहीबार सामाजिक सुरक्षा दिवसका अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सहारा विहीनहरुका लागि सरकार रहेको बताएका छन् ।

‘अब कसैले अनाथ भएँ भन्नुपर्दैन । अनाथ हुनु दुःखको कुरा हो । तर, अब अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन । मेरोे रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन । त्यस निम्ति राज्य छ र सरकार छ’, उनले भने ।

उनले सरकार सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिडेको सरकार, सुशासन र विकासको अभियानमा लम्किरहेको सरकार, देश र जनताप्रति निष्ठा र प्रतिवद्धता भएको सरकार भएको बताएका छन् ।

‘यस सरकारले कसैलाई पनि एक्लो र असहाय छाड्दैन । म यस दिनको अवसरमा कसैलाई पनि एक्लो महशुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रह गर्दछु’, उनले भने, ‘हाम्रो देशमा कर्मचारीहरुको सञ्चयकोष, पेन्सनजस्ता कुराहरुबाट सुरक्षाको अवधारणाले केही मात्रा र केही हदसम्म आकार लिन थाल्यो ।’

उनले विंसं २०५१ सालबाट सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा ज्येष्ठ नागरिकहरु, एकल महिला, असहाय र अशक्त आदिलाई समेट्ने नीति लिएको र लोककल्याकारी राज्य, सामाजिक न्याय, समानता र सामाजिक सुरक्षाको अवधारणाले मूर्तरुप पनि लिन थालेको स्मरण गरेका छन् ।

‘आज आइपुग्दा हामीले सामाजिक सुरक्षालाई हाम्रो सामाजिक जीवन, राज्य संचालन र समाज संचालनको एउटा अभिन्न अंगका रुपमा बुझिरहेका छौं र तद्अनुसारको व्यवहार गरिरहेका छौं’, प्रधानमन्त्री अ‍ोलीले भने, ‘हरेक नागरिक सचेत हुनुपर्दछ र आफूले सामाजिक सुरक्षाको सन्दर्भमा योगदान पनि गर्नुपर्दछ भनेर हामीले योगदानमा आधारित सामामजिक सुरक्षाको एउटा नयाँ र उन्नत अवधारणाकोे पनि सुरुवात गरेका छौं ।’ -काठमाण्डु पाटी