कञ्चनपुरको भीमदत्तमा बहुप्राविधिक शिक्षालय संचालनका लागि अनुमतिपत्र हस्तान्तरण

कञ्चनपुरको भीमदत्तमा बहुप्राविधिक शिक्षालय संचालनका लागि अनुमतिपत्र हस्तान्तरण

कञ्चनपुर  कञ्चनपुरको महाकाली उपप्रादेशिक अस्पताललाई महाकाली बहुप्राविधिक शिक्षालय संचालनका लागि अनुमतिपत्र हस्तान्तरण गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पेख्रेलका सल्लाहकार जीवन गौतमले शैक्षिक २०७७/०७८ देखि नै औपचारिक रूपमा प्राविधिक शिक्षा अध्यापनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को २६ कात्तिक २०७७ मा बसेको बैठकले कञ्चनपुरको भीमदत्त नगरपालिका र महाकाली अस्पतालको साझेदारीमा महाकाली बहुप्राविधिक शिक्षालयका नाममा कार्यक्रम संचालन गर्न दिइएको अनुमतिपत्र हस्तान्तरण गरेका हुन् ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जाशी र भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र बिष्टलाई उक्त अनुमतिपत्र हस्तान्तरण गर्दै सल्लाहकार गौतमले शैक्षिक सत्र २०७७/०७८ देखि नै प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा, प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, प्रमाणपत्र तह डेन्टल साइन्स, प्रमाणपत्र तह रेडियो डाइग्नोष्टिक, प्रमाणपत्र तह अप्थाल्मिक साइन्स र डिप्लोमा इन फार्मेसीसहित सातवटा विषयको अध्यापन गर्न अनुमति दिइएको जानकारी गराए ।

यसैगरी महाकाली अस्पतालले अध्यापन गर्न पाएको अनुमति ठूलो उपलब्धि भएको भन्दै यसमा सबैको सहयोगको अपेक्षा गरिएको महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले बताए । साथै उनले महाकाली बहुप्राविधिक शिक्षालय संचालनपछि यसमा मध्यम वर्गका विद्यार्थीले समेत पढ्न पाउने हुँदा यो कार्यक्रम निजी क्षेत्रका शैक्षिक संस्थाविरुद्धको लडाइँसमेत भएको उल्लेख गरे ।

कञ्चनपुरको महाकालि अपताललाई महाकालि बहुप्राविधिक शिक्षालयका नाममा पठनपाठन गरिने र यसको आर्थिक व्यवस्थापन स्थानीय तहअन्तर्गत नगरपालिकाले गर्ने गरी कार्ययोजना बनाउन लागिएको हो । प्रत्येक विषयमा ४० जनाका दरले २८० जनाले अध्ययन गर्न पाउने गरी स्वीकृति दिइएको छ ।-स्रोतः पालिका खबर