योजना अलपत्र पार्ने कैलालीका ठेकेदारहरुको खोजीकार्य सुरु

योजना अलपत्र पार्ने कैलालीका ठेकेदारहरुको खोजीकार्य सुरु

धनगढी । गृहमन्त्रालयको निर्देशन पश्चात जिल्ला प्रशासन कार्यालय कैलालीले योजना अलपत्र पार्ने ठेकेदारहरुको खोजी कार्य सुरु गरेको छ ।

सडक, भवन, पुल, सिँचाइ, खानेपानीलगायत पूर्वाधार योजनाको ठेक्का लिने, तर काम नगर्ने ठेकेदारको खोजी भइरहेको जिल्ला प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयमा योजना अलपत्र पार्ने ठेकेदारको तथ्याङ्क पुगेपछि मन्त्रालयले निर्माणमा ढिलाई हुनुको यकिन जानकारी लिई कार्वाहीका लागी सिफारिस गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो ।

सो निर्देशन पश्चात जिल्ला प्रशासन कार्यालय कैलालीलेपनि सम्बन्धित ठाँउका प्रहरी मार्फत ठेकेदारहरुलाई जिल्ला प्रशासनमा पठाउन पत्र काटेको थियो । पत्र काटेपछि केही ठेकेदारहरु सम्पर्कमा आएपनि केही अझँैसम्म सम्पर्कमा नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निर्माण कार्यको म्याद थपेर काम गरिरहेका ठेकेदारहरुलाई समयमा काम सम्पन्न गर्न निर्देशन दिएको र काम ठप्प पारेका ठेकेदारहरुलाई कार्वाहीको तयारी थालेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताउनुभयो । सम्पर्कमा नआएका ठेकेदारहरुलाई प्रहरी परिचालन गरी गिरफ्तार गरिने उहाले बताउनुभयो ।

निर्माण कार्यमा ढिलाई गर्ने कैलालीका १७ जना ठेकेदारको नाम गृह मन्त्रालयमा पठाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ । जसमा चन्द्रशेखर मल्ल, सुनिल थापा, किसोर ठकुराठी, गोबिन्द भट्ट, लक्ष्मण स्वाँर, गोकर्ण कुमार शाह, शेर बहादुर खड्का, भुपेन्द्र सिहँ धामी, तपेन्द्र बहादुर शाहको नाम गृह मन्त्रालयमा पठाएको थियो ।

त्यस्तै प्रकाश सर्मा, बिस्णु बहादुर कुवँर, राम गोपाल श्रेष्ठ, बद्री सिग्देल, रगं बहादुर बराल र टेक बहादुर सेठीको नामपनि गृह मन्त्रालयमा पठाएको थियो । सम्पर्कमा आएका ठेकेदारहरुले भने केही समय मागि रहेका छन् ।