आजबाट क्रिकेट प्रशिक्षण शुरु, पत्रकारलाई पनि प्रशिक्षणस्थल पस्न रोक

आजबाट क्रिकेट प्रशिक्षण शुरु, पत्रकारलाई पनि प्रशिक्षणस्थल पस्न रोक

बुधबारबाटै शुरु हुने भनिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आजबाट मात्र शुरु भएको छ। स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै प्रशिक्षणस्थल टीयू क्रिकेट ग्राउन्डमा स्टाफ, खेलाडी र प्रशिक्षकबाहेक अरुलाई पस्न प्रतिबन्ध लगाइएको छ।

खेलाडीको स्वाब परीक्षण गर्न एक दिन ढिला भएको कारण प्रशिक्षण पनि एक दिन पछि सरेको हो। ८ मंसीरमा गर्ने भनिएको स्वाब संकलन खेलाडी जम्मा हुन समय लागेका कारण ९ मंसीरमा मात्र भएको थियो।

आजदेखिको प्रशिक्षणमा सबै खेलाडी भने सहभागी छैनन्। नेपाल क्रिकेट संघ ९क्यान० ले कोरोना परीक्षण नगरेका र रिपोर्ट पोजिटिभ आएका खेलाडीलाई प्रशिक्षणमा सहभागी नगराउने जनाइसकेको छ।

हिजो आएको पीसीआर रिपोर्ट अनुसार कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेलको रिपोर्ट पाजिटिभ आएको छ। त्यसबाहेक अरु ६ जना खेलाडी स्वाब संकलनमा उपश्थित भएनन्।

क्यान स्रोतका अनुसार वसन्त रेग्मी केही दिनअघि कोरोना संक्रमित भएर ‘होम आइसोलेसन’ मा छन्। सन्दीप लामिछाने बिग ब्यासमा अष्ट्रेलिया जानुअघि परिवारसँग चितवनमा समय बिताइरहेका छन्।

सुवास खकुरेल र शरद भेषवाकरले पारिवारिक कारणले स्वाब संकलनका लागि उपस्थित नभएको जानकारी दिएका छन्। कुशल मल्ल भने कक्षा १२ को परीक्षा दिइरहेका छन्।

क्यानले हिजो मात्र थप पाँच खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। उनीहरुसहित बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीको संख्या २७ पुगेको छ। तर, पाँचै जनाको पीसीआर परीक्षण हुन बाँकी छ। क्यानले विक्रम सोब, अनिल साह, कुशल भुर्तेल, रित गौतम र लोकश बमलाई प्रशिक्षामा बोलाएको हो।

यसैबीच प्रशिक्षणस्थलमा पहिलो हप्ता मिडियालाई पनि प्रवेश निषेध गरिएको छ। क्यान आफैँले आवश्यक तस्वीर र सूचना उपलब्ध गराउने जनाएको छ। मिडियाले भर्चुअल माध्यमबाट भने खेलाडी, प्रशिक्षक र व्यवस्थापकसँग कुरा गर्न सक्ने जनाइएको छ। सामान्य अवस्था भए अर्को हप्तादेखि मिडियालाई प्रवेश दिइने पनि जनाइएको छ।