मुख्यमन्त्री भट्ट र विकास आयोजनाको अनुगमन गर्न आएको टोलीबीच छलफल

मुख्यमन्त्री भट्ट र विकास आयोजनाको अनुगमन गर्न आएको टोलीबीच छलफल

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र सङ्घीय सरकारका विभिन्न निकायबाट विकास आयोजनाको अनुगमन गर्न आएको एक टोलीका प्रतिनिधिबीच आज धनगढीमा छलफल भएको छ । 

उक्त टोलीका प्रतिनिधि र मुख्यमन्त्रीका बीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको भेटमा सुदूरपश्चिम प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाका साथै प्रदेश र सङ्घीय सरकारद्वारा संयुक्त रुपमा सञ्चालित सडकलगायत विकास आयोजनाका विषयमा छलफल भएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । 

उक्त टोलीले शुक्रबार (आज) कैलालीको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको स्थलगत अनुगमन निरीक्षण गर्ने बताइएको छ । टोलीमा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलिया, सिँचाइ विभागका महानिर्देशकलगायत सहभागी छन् ।