उत्तर कोरियामा माछा मार्न र नुन उत्पादन गर्न प्रतिबन्ध, दुई अधिकारीलाई मृत्युदण्ड

उत्तर कोरियामा माछा मार्न र नुन उत्पादन गर्न प्रतिबन्ध, दुई अधिकारीलाई मृत्युदण्ड

 दक्षिण कोरियाली खुफिया एजेन्सीका अनुसार उत्तरु कोरियाली शासक किम जोंग उनले आफ्नो देशमा कोरोनाभाइरस संक्रमण फैलिन नदिन निकै कडा नियम लागू गराएका छन् । रिपोर्टका अनुसार किम जोंगले समुद्रमा माछा मार्न प्रतिबन्ध लगाएका छन् । उनले कम्तीमा २ जनालाई नियम उल्लंघन गरेको आरोपमा मृत्युदण्डको समेत आदेश दिएको सिबिएसन्यूजमा प्रकाशित समाचारमा जनाइएको छ । समाचारअनुसार राजधानी प्योंगयाङमा लकडाउन लागू गरिएको छ ।

किम सरकारले विदेशी कूटनीतिज्ञसँग अमेरिकालाई उत्तेजित पार्ने किसिमका कुनै पनि गतिविधि नगर्न समेत निर्देशन दिएको छ । रिपोर्टका अनुसार किम अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको उत्तर कोरियाप्रतिको सम्भावित नयाँ दृष्टिकोणका विषयमा चिन्तित छन् । दक्षिण कोरियाका सांसदहरुले खुफिया अधिकारीहरुसँगको ब्रिफिङपछि मिडियालाई यो जानकारी दिएका हुन् ।

सांसदहरुमध्ये एक हा के कुनले गुप्तचरको हवाला दिँदै भने ‘किमले अत्याधिक क्रोध प्रदर्शन गरिरहेका छन् र महामारी र यसको आर्थिक प्रभावका विषयमा तर्कहीन उपाय गरिरहेका छन् ।’ रिपोर्टका अनुसार गएको अगष्टमा विदेशबाट आयातीत सामानलाई प्रतिबन्ध गर्ने सरकारी नियम उल्लंघन गरेपछि एक सरकारी अधिकारीलाई मृत्युदण्ड दिइएको थियो । उत्तरु कोरियाले समुद्रको पानीबाट भाइरस सर्न नपाओस् भनेर समुद्रमा माछा मार्न र नुन उत्पादन गर्न पनि प्रतिबन्ध लगाएको छ ।