मुख्यमन्त्रीको उपस्थितिमा धनगढीमा अस्पताललाई भेन्टिलेटर र सुरक्षा सामग्री हस्तान्तरण

मुख्यमन्त्रीको उपस्थितिमा धनगढीमा अस्पताललाई भेन्टिलेटर र सुरक्षा सामग्री हस्तान्तरण

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिडको संक्रमण अझ फैलन सक्ने भएकाले थप सजग हुँदै तयारीलाई बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । 

कोका-कोला र नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को साझेदारी अन्तरर्गत कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, विरामी र स्वयंसेवकहरुको सुरक्षा अभिबृद्धिको लागि सेतीप्रादेशिक अस्पताल धनगढी, कैलालीको प्राङ्गणमा सुरक्षा सामग्री तथा उपकरण अस्पताललाई हस्तान्तरण गर्दै संक्रमणप्रति थप सजग रहनुपर्ने बताउनुभएको हो ।
सेती प्रदेश अस्पतालका मेडिकल सुपरीटेडेन्ट डा. हेमराज पाण्डेलाई सामग्री हस्तान्तरण गर्दै उहाँले भन्नुभयो ः “रेडक्रसले सरकारको सहयोगीको कार्य गर्दैछ र निश्पक्षतालाई ध्यानदिदै थप सहयोग गर्न रेडक्रस लगायतको सँस्थालाई अनुरोध गर्दछु । ”

आईतबार हस्तान्तरण गरिएका सामग्रीमा रु. १६ लाख ३२ हजार आठसय पचास मूल्यको आइसीयूमा प्रयोग हुने एक भेन्टिलेटरका साथै  ६ हजार सर्जिकल मास्क, २५०० जोडी सर्जिकल पन्जा, ५० थान सुरक्षापोशाक, केएन ९५ मास्क २०० थान र  २५ थान सुरक्षा चस्मा वटा रहेका कार्यक्रमको सञ्चालनगर्दै नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो । ती सामग्रीहरुको जम्मामूल्य १८ लाख ५१ हजार एक सय रहेको छ  ।

नेरेसोका केन्द्रीय महा-मन्त्री पिताम्बर अर्याल, केन्द्रीय सदस्यद्धय जीवन राना र उद्धव भट्टराई, विपद् व्यवस्थापन विभागका निर्देशक बिपुल न्यौपाने, सञ्चार बिभागका निर्देशक दिब्यराज पौडेल, स्वास्थ्य सेवा बिभागका उप-निर्देशक शिवरामगौतम र कोकाकोलाका प्रतिनिधि शुभाष दाहालको समुपस्थितिमा भएको कार्यक्रममा नेरेसो कैलाली शाखाका सभापति उत्तम जोशीले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक राजु राउत, नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका पदाधिकारी एवं कर्मचारी र अस्पतालका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । यस अघि गत असारमा पहिलो चरणमा मास्क, शुरक्षा बुट, स्यानिटाइजर, क्लोरिन झोल र साबुन अस्पताललाई उपलव्ध गराइएको थियो ।

नेपाल रेडक्रस र कोका-कोला नेपालको यो साझेदारी केन्द्रीय स्तरमा मात्र नभई प्रदेश र जिल्ला तहमा पुग्न पाएकोमा खुशी व्यक्त गर्दै नेपाल रेडक्रसका केन्द्रीय महामन्त्री पिताम्बर अर्यालले भन्नुभयो ः ”कोरोना सङ्क्रमणको जोखिममा रही अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मीको शुरक्षा र विरामीको सघन उपचारमा मद्दत पुर्याउने यो एउटा प्रयास हो । ”