बैज्ञानिक ढंगले सीमा ब्यवस्थित गरिदै

बैज्ञानिक ढंगले सीमा ब्यवस्थित गरिदै

धनगढी : नेपाल र भारतका नागरिक बीच सीमामा हुने विवादको अन्त्यका लागि बैज्ञानिक ढंगले सीमा ब्यवस्थित गर्ने कार्य सुरु भएको छ । 

कैलाली र कञ्चनपुर जिल्लामा भारतसग जोडिएको सीमा क्षेत्रमा यसरी प्रविधिको प्रयोग गरी सीमालाई ब्यवस्थित गर्ने काम शुरु भएको छ । 

सीमामा नेपाल र भारतका बीचमा भएका बिभिन्न सन्धिहरुका आधारमा बैज्ञानिक ढंगले ब्यवस्थित गर्न दुई हप्ता अघि देखि काम शुरु भएको सीमा सर्भेक्षण टोली नम्बर ४ का प्रमुख नापी अधिकृत जनकराज भट्टले बताए । 

नेपाल र भारत दुबैतर्फका टोली सीमा ब्यवस्थित गर्न काम गरिरहेको उनले जानकारी दिए । 

सीमामा काम भइरहेको सम्बन्धमा जानकारी दिन जिल्ला प्रशासन कार्यालय कैलालीमा सरोकारवालहरुसग छलफल गरेको टोलीले जिपिएस पद्धतिको प्रयोग गरी सीमा स्तम्भहरु मर्मत गरिने जनाएको हो । 

कैलाली जिल्लामा रहेका जम्मा २ सय ८२ वटा सीमा स्तम्भहरु मध्ये मुख्य २१ स्तम्भ  र १ सय १२ सहयायक स्तम्भ हराइरहेकोले प्रविधिको सहयोगमा ती सबै पुनर्निमार्ण गरिने जानकारी सीमा सर्भेक्षण टोली नम्बर ४ ले दिएको छ । 

सीमा ब्यवस्थित गर्न बिभिन्न चरणमा काम भइरहेको जानकारी दिदै सर्भेक्षण टोलीका नापी अधिकृत कमल शाहीले बिस्तृत सर्भेक्षणका काम शुरु गरिएको जनाए । 

प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले सीमाको मुद्धा राष्ट्रिय स्वाधीनतासग जोडिएको यसमा ब्यवस्थित रुपमा काम भइरहेको बताए । 

सीमा सर्भेक्षणको काम गरिरहेको टोलीलाई सुरक्षा दिइरहेको सशस्त्र प्रहरीको ३४ नम्बर गणका निमित्त प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक बिष्णु प्रसाद भट्टले बताए ।