नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट, मंसिर लागेयता ५ हजारले घट्यो

नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट, मंसिर लागेयता ५ हजारले घट्यो

विवाह एवम् सुन बिक्ने सिजनमा पनि नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आउन थालेको छ । यसैक्रममा सोमबार सुनको मूल्य प्रतितोला ७ सय रुपियाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर लागे यता सुनको मूल्यमा लगातार ओरालो लागेको हो । यस अवधिमा सुन प्रतितोला ५ हजार १ सय रुपियाँले घटेको छ । सोमबार छापावाला सुन प्रतितोला ९० हजारमा कारोबार भएको छ । आइतबार छापावाला सुन प्रतितोला ९० हजार ७ सय रुपियाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला ८९ हजार ५५० रुपियाँमा कारोबार भएको छ । आइतबार प्रतितोला ९० हजार २०० रुपियाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा तेजाबी सुन प्रतितोला ६५० रुपियाँ घटेको हो ।

यस्तै चाँदीसमेत प्रतितोला ३० रुपियाँले घटेको छ । आइतबार प्रतितोला १ हजार १५० रुपियाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ एक हजार १२० रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ ।