नेकपा सचिवालय बैठक आज, ओली र दाहालको प्रतिवेदनमाथि छलफल हुने

नेकपा सचिवालय बैठक आज, ओली र दाहालको प्रतिवेदनमाथि छलफल हुने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज (मंगलबार) बस्दैछ। बैठक दिउँसो १ बजे नेकपा मुख्यालय धुम्बाराहीमा बस्नेछ।

यसअघि १३ मंसीरमा बसेको सचिवालय बैठकले आजका लागि बैठक तय गरेको थियो। आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालयमा पेश गरेको  राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ। अध्यक्ष दाहालले २८ कात्तिकको बैठकमा एकल राजनीतिक प्रतिवेदन पेश गरेपछि त्यसको प्रत्युत्तरमा ओलीले १३ मंसीरको बैठकमा छुट्टै जवाफी प्रतिवेदन पेश गरेका थिए।

यसबीचमा दुवै समूहका नेताहरुले आ–आफ्नो समूहमा छलफल गरेका छन्। अध्यक्ष दाहालले आफ्नो समूहमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसँग परामर्श गरेका छन्।

यस्तै, आफूनिकट स्थायी कमिटी सदस्य जनार्दन शर्मा, वर्षमान पुन र मात्रिका यादवलगायतका नेताहरुसँग पनि छलफल र परामर्श गरेका छन्। आजको बैठकमा ओलीको प्रतिवेदनमा उठाइएका ‘गम्भीर विषय’माथि दाहालले जवाफ दिने नेता यादवले बताए।

दुवै अध्यक्षका प्रतिवेदनमाथि आज छलफल नसकिए बैठक भोलिसम्म लम्बिने सम्भावना छ। सचिवलायपछि यी प्रतिवेदन स्थायी र केन्द्रीय कमिटी बैठकमा लैजाने नेताहरुको तयारी छ। नेकपाले यसअघि नै १८ मंसीरमा स्थायी कमिटी र २५ मंसीरमा केन्द्रीय कमिटी बैठक तय गरिसकेको छ।