बाँके। बाँकेको जानकी गाउँपालिकामा सोमबार बेलुका दुई समुहका बीचमा झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
जानकी गाउँपालिका वडा नं. ५ बनियाँ गाउँमा यादव र गुप्ता समूहका बीचमा पुरानो रिसिबीलाई लिएर भएको झडपमा परी स्थानीय ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको हो ।
टाउकोमा गम्भीर चोट लागेका उनको बेलुका ८ बजेतिर नेपालगञ्ज नरसिंह कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्णिमाको अवसरमा सोमबार बेलुका गाउँमा लागेको मेलामा पुगेका यादव समूहले पुरानो रिसीबीका कारण गुप्ता समुहका एक व्यक्तिमाथि बेलुका ६ बजेतिर कुटपिट गरेका थिए ।
त्यसपछि थप व्यक्तिहरुसहित पुगेका दूई समुहका बीचमा हात, खुट्टाका साथै लाठी, भाटाले समेतले कुटाकुट भएको जनाइएको छ । घाइते ९ जनाको बाँकेमा उपचार भइरहेको छ ।