महेन्द्रनगर नगर विकास समितिको कार्यालयमा तालाबन्दी

महेन्द्रनगर नगर विकास समितिको कार्यालयमा तालाबन्दी

कञ्चनपुर : सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा विद्यार्थीसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा विद्यार्थीले महेन्द्रनगर नगर विकास समितिको कार्यालयमा तालाबन्दी गरेका छन् । 

आइतबार कांग्रेसनिकट नेपाल तरुण दल, नेविसंघ, पूर्वएमालेनिकट युवा संघ, अनेरास्ववियु र पूर्वनेकपा माओवादी केन्द्रनिकट वाइसिएल र अखिल क्रान्तिकारीले नगर विकास समितिको कार्यालयमा तालाबन्दी गरेका हुन् । 

जमिन अवैधानिक रूपमा दिएको आरोप
कार्यालयको मूल गेटमा तालाबन्दी गरेको युवा संघ कञ्चनपुरका नेता रामचन्द्र रेग्मीले बताए । उनले अवैधानिक रूपमा महेन्द्रनगर बजारमा धनाढ्यहरूलाई जमिन दिएको भन्दै तालाबन्दी गरिएको छ ।

युवा संघका नेता रेग्मीले भने, ‘नगर विकासको रिजर्भ एरियामा कौडीको मूल्यमा जमिन वितरण गरिएको छ । यसको छानबिन गरी बनेका संरचना भत्काउनुपर्ने माग राख्दै तालाबन्दी गरेका हौँ ।’ 

तीनवटै पार्टीका युवा–विद्यार्थीले नगर विकास समितिको सम्पूर्ण जमिनमा अवैधानिक रूपम बनेका संरचना भत्काउन  प्रशासन र भीमदत्त नगरपालिकालाई अल्टिमेटम दिएका थिए । उनीहरूले सरकारले नगर विकास समितिको जमिनमा बनेका घर नभत्काए आफँै डोजर लगेर भत्काइदिने चेतावनी दिए ।

युवा नेता रेग्मीले नगर विकास समितिले एकलौटी रूपमा वितरण गरेको जमिनको छानबिन भइरहेको बताए । ‘अध्ययन गरेर सबै घर भत्काउन संघर्ष गरिनेछ,’ उनले भने । 

महेन्द्रनगर नगर विकास समितिका सदस्यसचिव मोहनदेव अवस्थीले नगर विकास समितिको ऐन ०५३ अनुसार समितिले जमिन भाडामा दिन मन्त्रालको स्विकृति लिनुपर्ने बताए । अतिक्रमण हटाउन र निर्माण कार्य रोक्न पटक–पटक नगर विकास समितिबाट सूचना जारी गरिएको उनले जानकारी दिए । साभार : नयाँपत्रिका