धेरै सन्दीप लामिछाने अवसरको खोजीमा छन् : पारस खड्का

धेरै सन्दीप लामिछाने अवसरको खोजीमा छन् : पारस खड्का

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अवसर  पाए  नेपालबाट थुप्रै सन्दीप लामिछाने जन्मने बताएका छन्। क्रिकेट प्रशिक्षण दिन अस्ट्रेलिया पुगेका कप्तान खड्काले नेपाली क्रिकेट क्षेत्रमा अथाह प्रतिभाहरूले अवसर खोजिरहेको बताए ।  खड्काले भने, 'हामीसँग प्रतिभाको कुनै कमी छैन। अवसर पाए थुप्रै सन्दीपहरु अघि आउनेछन्।

'शैक्षिक परामर्श तथा आप्रवासन सम्बन्धी संस्था एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस'को आयोजनामा अस्ट्रेलियामा भइरहेको क्रिकेट मेलामा पारस खड्काले प्रशिक्षण दिइरहेका छन्।

प्रशिक्षणमा खड्कासहित राष्ट्रिय टिमका खेलाडी दीपेन्द्रसिंह ऐरी, यू–१९ राष्ट्रिय टेलीका पूर्व सदस्य सुवास प्रधान, यशवन्त सुवेदी र सुनाम गौतम पनि सहभागी छन् । पारससहितको टोलीले मेलामा सहभागी हुन आएका क्रिकेट प्रेमीहरूलाई प्रशिक्षण दिइरहेका हुन् ।

उनीहरूले अस्ट्रेलियाका चार सहरमा प्रशिक्षण दिने कार्यक्रम रहेकोमा मेलवर्नमा प्रशिक्षण सकिएको छ।  यसैगरी पौष २१ र २२ गते सिड्नीमा, २६ गते ब्रिसवेन र २८ गते एडिलेडमा प्रशिक्षण कार्यक्रम हुँदैछ। 'नेपाली क्रिकेट प्रवर्द्धनमा सँगसँगै' नारालाई व्यवहारिक कार्यान्वयनका लागि मेला आयोजना गरेको एक्सपर्ट एजुकेशनका जनसम्पर्क व्यवस्थापक सुनोद श्रेष्ठले बताए।

एक्सपर्ट क्रिकेट क्लब मेल्वर्न, सिड्नी, ब्रिसवेन र एडिलेडबीच सिड्नीमा प्रतिस्पर्धा हुँदैछ।  प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने दुई खेलाडीले आगामी संस्करणको पोखरा प्रिमियर लिगमा एक्सपर्ट धनगढी ब्लूजबाट खेल्ने अवसर पाउने एक्सपर्ट एजुकेशनका निर्देशन संजिव शर्माले जानकारी दिए।