सुदूरपश्चिममा राष्ट्रिय मागको १० प्रतिशत मात्रै मल, समयमै मल नपाउँदा किसानहरु समस्यामा

सुदूरपश्चिममा राष्ट्रिय मागको १० प्रतिशत मात्रै मल, समयमै मल नपाउँदा किसानहरु समस्यामा

धनगढी । सुदूरपश्चिम प्रदेशमा आवश्यकता अनुसारको मल नआउँदा बर्षेनी किसानहरुलाई समस्या हुदैं आएको छ । प्रदेशका लागि करिब ५० हजार मेट्रिक टन मलको आवश्यकता भएपनि १० हजार मेट्रिक टन मल मात्रै आउने गरेको हो । कृषि सामाग्री केन्द्र धनगढीका प्रमुख नवलसिंह बोगटीका अनुसार अहिले सम्म सुदूरपश्चिममा मलको कोटा १० हजार मेट्रिक टन मात्रै रहेको छ ।

उनले सो कोटा अनुसार मलविउ आउनु पर्ने भएपनि बर्षेनी घट्दैं गएको बताए । “सरकारले सुदूरपश्चिममा राष्ट्रिय मागको १० प्रतिशत मल पठाउँछ’,उनले भने,‘त्यो मलले यहाँ का किसानलाई पुग्दैन ।” यस बर्ष झन कोटा भन्दा कम मल आएको छ । यो बर्ष अहिले सम्म १४ सय मेट्रिक टन डीएपी मल बिक्रि वितरण गरिएको र १८ सय मेट्रिक टन युरिया मल माग गरिएको बोगटीले जानकारी दिए ।

खेतीपातीको समयमा यहाँका किसान मल पाउँनकै लागि रातभर जाग्राम बस्ने गरेका छन । साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीका नायब महाप्रबन्धक केशवप्रसाद पाण्डेले साल्ट ट्रेडिङको कार्यक्षेत्रमा नुनको वितरण र रसायनिक मल ३० प्रतिशत मात्र वितरण गर्ने अधिकार रहेको जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकाले किसानलाई सहुलियत मूल्यमा रासायनिक मल उपलब्ध गराउन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीलाई एक करोड रुपैंया अनुदान उपलब्ध गराउने भएको छ । सङ्घीय सरकारले मलखाद निर्देशिका २०७७ जारी गरेको छ । सो निर्देशिका स्थानीय सरकारले सही कार्यान्वयन नगर्दा किसान समस्यामा परेको उनले बताए ।

स्थानीय सरकारका जनप्रतिनिधीले आफ्ना मान्छेलाई अनुदानका लागि सिफारिस गरेर पठाउने भएका कारण वास्तविक किसानले अनुदान नपाउने अवस्था आएको उनले बताए । कुनै पनि निकायले अनुगमनमा चोसो नदेखाएको उनले आरोप समेत लगाएका छन । प्रदेशका किसानको माग अनुसार मल बिउ उपलब्ध नहुँदा वर्सेनी अभावको समस्या खेप्नु परेको छ ।

हरेक बर्ष मलको अभाव खेप्दैं आएका किसानहरु खेती लगाउने वा नलाउने भन्नेमा अलमल पर्ने गरेका छन । यस बर्ष उत्पादन भन्दा ढिलो धान खरिद गरेकाले किसानले सरकारको समर्थन मुल्यभन्दा सस्तोमा धान बेच्नु परेको किसानहरुले गुनासो गरेका छन ।

तर यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रशासकीय अधिकृत कल्पना विष्टले कम्पनीले यस वर्ष सरकारले साउनमा धानको मुल्य निर्धारण गरेको भएपनि धानमा बढी चिस्यान हुने र कोरोनाका कारण असोज महिनादेखि धान खरिदका लागि डिपो सञ्चालन गरेको जानकारी दिईन् । केही दिन धान राख्ने बोराहरु सकिएको भएपनि अहिले संकलन धमाधम भईरहेको उनको भनाईं छ ।

कृषि ज्ञान केन्द्रका प्रशासकीय अधिकृत जनकराज बोहराले कृषि यन्त्र उपकरणको लागि हजारौं किसानहरुका आवेदन पर्ने गरेको जानकारी दिए । हजारौं किसानहरुबाट केही किसानहरु छनौट गर्नु पर्ने भएका कारण सबैलाई यन्त्र उपकरण दिन नसकिने उनले बताए । यसरी किसानहरु छनोट गर्दा किसानहरुबाट व्यापक गुनासोहरु आउने गरेको अधिकृत बोहराले जानकारी दिए ।