चीनको चांग ई–फाइभ यानले पठायो चन्द्रमाका रंगीन तस्बिर

चीनको चांग ई–फाइभ यानले पठायो चन्द्रमाका रंगीन तस्बिर

चीनको चांग ई–फाइभ मून मिसनले चन्द्रमाको सतहको पहिलो रंगीन तस्बिर पठाएको छ । चीनको यो मून ल्यान्डरले चन्द्रमाको सतहमा आफ्नो खुट्टा नजिकैदेखि क्षितिजसम्मको तस्बिर खिचेको छ । 

चन्द्रमाबाट माटो र ढुङ्गाका नमूना पृथ्वीमा पठाउनका लागि तयार पारिएको यो मिशनले मंगलबार सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको थियो ।

अवतरण गरेलगत्तै यसले चन्द्रमाको सतहबाट नमूना संकलन गर्ने काम सुरु गरेको छ । यसलाई रिटर्न मोड्युलसम्म पुर्याउने सुरुवात बिहिबारदेखि गर्न सकिनेछ । 

यो काम केही दिनसम्म मात्रै गर्न सकिनेछ । त्यसपछि नमूनालाई चन्द्रमाको कक्षमा पहिलेदेखि नै रहेको सर्विस ह्विकल र रिटर्न मोड्युलसम्म पुर्याइनेछ जसले यसलाई धर्तीमा फिर्ता पठाउनेछ ।

योजनाका अनुसार रिर्टन मोड्युल मंगोलियाको भित्री इलाकामा सिजिवांगको घाँसे मैदानमा ल्याण्ड गर्न सक्छ ।

चांग ई–फाइभ मिशनअघि चीनले  थप दुई मून मिसन पठाएको थियो, सन् २०१३ मा चांग ई–थ्री र सन् २०१९ मा चांग ई–फोर मून मिशन । यी दुबैमा एक ल्याण्डरका साथै एउटा सानो मून रोभर समावेश गरिएको थियो । 

यी दुईको तुलनामा चांग ई–फाइभ जटिल मिशन हो । 

८.२ टनको चांग ई–फाइभलाई एक अन्तरिक्षयानमार्फत् २४ नोभेम्बरमा दक्षिणी चीनको वेनचांग स्टेशनबाट छोडिएको थियो । 

केही दिन अघि यो मिशन चन्द्रमामाथि पुग्यो र यसले आफूलाई चन्द्रमाको कक्षमा स्थापित गर्यो र चन्द्रमाको फन्को लगाउन थाल्यो । पछि यो दुई टुक्रामा बाँडियो – पहिलो सर्भिस ह्विकल र रिटर्न मोड्युल जुन चन्द्रमाको कक्षमा नै रोकिइरह्यो र दोस्रो मून ल्याण्डर जुन बिस्तारै चन्द्रमाको सतहतर्फ बढ्न थाल्यो ।