बेलायतमा फाइजरको खोपलाई अनुमति

बेलायतमा फाइजरको खोपलाई अनुमति

बेलायतले अमेरिकी औषधि कम्पनी फाइजर र जर्मन साझेदार बायोएनटेकले विकास गरेका कोभिड–१९ विरुद्धको खोप सार्वजनिक प्रयोगका लागि स्वीकृति दिएको छ । उक्त खोपलाई स्वीकृति दिने बेलायत पहिलो मुलुक हो ।

कम्पनीले यसअघि बेलायतको नियामक निकाय ‘मेडिसिन्स एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी’ (एमएचआरए) समक्ष स्वीकृतिका लागि केही दिनअघि आवेदन दिएको थियो । परीक्षणका क्रममा उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको पुष्टि भएको थियो । यो १० महिनामै तयार भएको पहिलो खोप हो । सामान्यतः खोप विकास गर्न दस वर्ष लाग्छ ।

अनुमति पाएसँगै बेलायतमा आगामी साता पहिलो लटमा ८ लाख डोज खोप उपलब्ध हुने स्वास्थ्यमन्त्री म्याट हानककले बताएका छन् । तर खोपका लागि राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले सम्पर्क गर्ने मन्त्री हानककले बताए । बेलायतमा प्रयोग गरिने खोप बेल्जियममा उत्पादन गरिएको हो ।

बेलायत सरकारले बायोएनटेक र फाइजरले निर्माण गरेको यो खोप करिब ४ करोड डोज अर्डर गरिसकेको छ । एक जनालाई २ खोपका दरले कुल २ करोड मानिसलाई उक्त खोप लगाउन सकिनेछ । केयर होमका वृद्धवृद्धा र कर्मचारी खोप प्राथमिकताको शीर्ष सूचीमा छन् भने त्यसपछि ८० वर्षभन्दा माथिका र स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई दिइनेछ । अस्पताल, खोप केन्द्र तथा स्थानीय स्वास्थ्य केन्द्र (जीपी) मार्फत खोप लगाउने योजना सरकारको छ ।

एनएचएस इंग्ल्यान्डले बेलायतका अस्पतालहरूमा डिसेम्बर ७ देखि ९ भित्र खोप आइपुग्ने जनाउँदै तयारी अवस्थामा रहन आह्वान गरिसकेको छ । बेलायतमा कोभिड प्रतिरोधी खोप वितरणको जिम्मा व्यापारमन्त्री नाधिम जहावीलाई दिइएको छ । जहावीले कम्तीमा आउँदो ग्रीष्मयामसम्म खोप वितरणको रेखदेख गर्नेछन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले खुसी व्यक्त गर्दै यसले अन्ततः जीवन पुनर्प्राप्ति र अर्थतन्त्रलाई पुनः सुदृढ पार्न मद्दत पुर्‍याउने बताएका छन् ।

बेलायत सरकारले फाइजर र बायोएनटेकको ४ करोडबाहेक अक्सफोर्ड र अस्ट्राजेनेकाको खोप १० करोड र मोडर्नाको ७० लाख डोज पनि अर्डर गरिसकेको छ । क्रोयडन युनिभर्सिटी हस्पिटलका क्लिनिकल अडिट विभाग प्रमुख डा. सुरजमणि पौडेलले खुसीको खबर भन्दै अस्पताल सरकारको निर्देशिकाअनुसार खोप वितरणको तयारीमा रहेको बताए ।

बेलायतस्थित सामाजिक अभियन्ता गोविन्द बेल्बासे ‘सुरुङपारि देखिएको उज्यालो प्रकाश’ ले आशा पलाएको बताउँछन् । खोप महँगो भए पनि विश्वव्यापी महामारीका समयमा यसले मानसिक सान्त्वना दिइसकेको र यसको प्रयोगबाट धेरैको ज्यान बच्ने उनको आशा छ ।

माइनस ७० डिग्री चिसोमा राख्नुपर्ने र ढुवानी जस्ता असुविधाले विकासोन्मुख तथा गरिब देशमा यसको प्रयोग उपयोगी नहुने हो कि भन्ने चिन्ता उनमा छ । ’धनी मुलुकले पहिला र प्रभावकारी खोप पाउने र गरिब देशले ढिलो अनि कमसल खालको खोपको आशा गर्नुपरेको अहिलेको परिस्थितिले विश्व समाजमा धनी र गरिबबीचको दूरी पनि प्रस्ट पारेको छ,’ बेल्बासेले टिप्पणी गरे । बायोएनटेक र फाइजरले खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने गरी युनियनको कार्यालयमा विधिवत् दर्ता गरेको छ । यदि युनियनले स्वीकृत गरे युरोपेली मुलुकमा यसै वर्षको अन्त्यअघि नै खोप उपलब्ध गराउने कम्पनीले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।