‘राजसंस्था’को पक्षमा प्रदर्शन गर्नेहरुलाई विप्लव समूहको चेतावनीः '...बोलीले नमाने गोलीले सम्झाउन बाध्य हुने छौं'

‘राजसंस्था’को पक्षमा प्रदर्शन गर्नेहरुलाई विप्लव समूहको चेतावनीः '...बोलीले नमाने गोलीले सम्झाउन बाध्य हुने छौं'

झापा।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पछिल्लो समय ‘राजसंस्था’को पक्षमा भइरहेको प्रदर्शनप्रति ध्यानाकर्षण भएको बताएको छ। 

विप्लवको नेकपाले ‘दक्षिणपन्थी भासमा डुबिसकेको’ वर्तमान केपी ओली नेतृत्व सरकारकै कारण ‘तत्कालिन सामन्तवादी सत्ताका नाइके’ले टाउको उठाउने प्रयास गरेको टिप्पणी गरेको छ।

विप्लवको नेकपाका एक केन्द्रीय नेताले ‘राजसंस्था’को पक्षमा ‘केही पश्चगामी तत्व’ले प्रदर्शन गरेकोप्रति पार्टी गम्भीर रहेको बताएका हुन्। उनले देशमा संकट आउने परिस्थितिमा आफ्नो पार्टी चुप लागेर नबस्ने पनि प्रष्ट पारेका छन्।

‘तत्कालिन शासक ज्ञानेन्द्र शाहको शासन उनको व्यापारिक चरित्र, अदुरदर्शिता र स्वाभिमानी नेपाली जनतामाथि उनले गरेको दमनले ढलेको हो, यो कुरा ३ करोड नेपाली जनतालाई थाहा छ, अब फेरि ज्ञानेन्द्र वा उनका छोरा–नातीलाई शासक बनाउने कुरा स्वाभिमानी नेपाली नागरिकलाई स्वीकार्य हुँदैन,’ ती नेताले भने।

जनता समाजवादी पार्टीबाट बर्खास्तीमा परेकी सरिता गिरीको प्रसंग उल्लेख गर्दै ती नेताले पूर्वराजा ज्ञानेन्द्र शाह, उनका छोरा पारस शाह र उनको परिवारका अन्य सदस्यबाट देशलाई झनै ठूलो खतरा रहेको बताएका छन्।

‘ज्ञानेन्द्रले यो प्रदर्शनसँग आफ्नो सरोकार छैन भनिसकेको प्रतिप्रेक्ष्यमा भारतको राजस्थानमा जन्मिएकी भारतीय चेली नेपालकी बुहारी हिमानी शाह र तिनका सन्तानलाई सत्तामा राख्न कसरी मिल्छ?,’ ती नेताले प्रश्न गर्दै भने, ‘हेक्का रहोस्, भारतीय चेली सरिता गिरीभन्दा अर्की भारतीय चेली हिमानी शाहबाट नेपाल देशलाई बढी खतरा छ।’

ती नेताले पहिले चेतावनी दिने र चेतावनीले नभए सशक्त प्रतिरोधमा उत्रिने बताएका छन्। ‘हामीलाई शान्तिको भाषा पनि आउछ, युद्धको भाषा पनि आउछ, बोलीले बुझेनन् भने बन्दुक र बमले सम्झाउन हामी बाध्य हुने छौं,’ ती नेताले भने।