राष्ट्रिय गौरवका आयोजनाप्रति प्रधानमन्त्री ओलीको गम्भीर चासो

राष्ट्रिय गौरवका आयोजनाप्रति प्रधानमन्त्री ओलीको गम्भीर चासो

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको काम प्रभावकारी रूपमा सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काममा तीव्रता ल्याउन आफ्ना प्रतिनिधिमार्फत देशव्यापी अनुगमन थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि केही दिनअघि देशभरमा सञ्चालनमा रहेका २४ वटा राष्ट्रिय गौरवका आयोजनाका प्रमुखसँग छलफल गरी आयोजनाको हालसम्मको प्रगतिबारे जानकारी लिएको थियो ।

प्रधानमन्त्री कार्यालयले सबै आयोजना प्रमुखसँग जानकारी लिएपछि उनीहरूले पेस गरेको प्रगति विवरणअनुसार काम भए नभएको बारेमा प्रधानमन्त्रीका सल्लाहकारसहितका सरकारी अधिकारीले देशव्यापी अनुगमन थालेका हुन् । उनीहरूले आयोजनाको अनुगमन गर्दै समयमै आयोजना सम्पन्न गराउने गरी आवश्यक सहजीकरणसमेत गर्न थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विकास विज्ञ सल्लाहकार इ. गजेन्द्र थपलियाको नेतृत्वमा गएको टोलीले सिँचाइ क्षेत्रमा रहेका महाकाली तेस्रो सिँचाइ आयोजना, रानीजमरा गुलरिया सिँचाइ आयोजना, बबई आयोजना, भेरी बबई डाइभर्सन आयोजना र सिक्टा सिँचाइ आयोजनाबारे स्थगलत अध्ययन गरी ती आयोजनाले भोग्नुपरेका समस्याबारे जानकारी लिएको छ । स्थगलत अध्ययनका क्रममा सिँचाइ मन्त्रालयका सचिव मधुसूदन अधिकारी, राष्ट्रिय योजना आयोगका सिँचाइ हेर्ने सदस्य डा. कृष्ण वली, सिँचाइ विभागका महानिर्देशक मधुकर राजभण्डारीलगायतले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिँदै समस्या समाधान गर्न आफूहरू तयार रहने प्रतिबद्धता जनाएका थिए । यसअघि राष्ट्रिय गौरवका आयोजनाबारे केन्द्रबाट प्रभावकारी रूपमा अनुगमन हुन नसक्दा काममा निकै सुस्तता आएको थियो भने कतिपय आयोजनामा अनियमिततासमेत भएको थियो । आयोजनामा हुने सुस्तता र अनियमितता रोक्न केन्द्रबाट प्रभावकारी अनुगमन थालिएको हो ।