कोभिड-१९ विरुद्धको खोप लगाएका भारतका स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण

कोभिड-१९ विरुद्धको खोप लगाएका भारतका स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण

उनले परीक्षणको खोप लगाउँदा अन्तर्राष्ट्रिय चर्चा भयो । तर, अहिले उनलाई खोप लगाएपछि कोरोना भाइरसको संक्रमण भएपछि झन् ठुलो चर्चा भएको छ । उनी हुन् भारतको हरियाणा राज्यका स्वास्थ्यमन्त्री अनिल भिज ।

मन्त्री भिजले परीक्षणमा रहेको भारत बायोटिकले विकास गरेको कोभ्याक्सिनको पहिलो डोज २० नोभेम्बरमा लगाएका थिए । अब दोस्रो डोज १८ डिसेम्बरमा लगाउने तय भएको थियो । तर, त्यसबीचमा उनी कोरोना भाइरसको संक्रमण भएको थियो ।

कोरोना संक्रमण भएपछि मन्त्री भिज अस्पताल भर्ना भएका छन् । उनी अम्बाला कान्टको अस्पताल भर्ना भएका छन् । उनले आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् ।

भारत बोयोटेकले दोस्रो डोज लगाएको २८ दिनपछि मात्र खोपको प्रभावकारिता रहने जनाएको छ । मन्त्री भीजले पहिलो डोज मात्र लगाएका छन् । विश्वभर विकसित सबै खोप दुवै डोज नलगाई प्रभावकारी नहुने भनिएको छ । कतिपय खोप शतप्रतिशत काम नगर्ने समेत देखिएको छ ।

भारतले नै विकास गरिरहेको कोभ्याक्स अर्को वर्ष उत्पादन गरी प्रयोगमा ल्याउने भनिएको छ ।