‘डान्स मास्टर लिल चाम्स’ आयोजना हुँदै, विजेताले २५ लाख पुरस्कार पाउने

‘डान्स मास्टर लिल चाम्स’ आयोजना हुँदै, विजेताले २५ लाख पुरस्कार पाउने

डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ आयोजना हुने भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै यसको टिमले औपचारिक रुपमा शो सुरु हुन लागेको जानकारी दिएको हो । ‘थ्रि प्रोडक्सन’ले ‘नेपा प्रोडक्सन’सँग सहकार्य गर्दै यो शो निर्माण गर्न लागेको हो ।

रियालिटी शोलाई विशाल भण्डारीले निर्देशन गर्नेछन् । विशालले चलचित्र ‘कोहलपुर एक्सप्रेस’ निर्देशन गरेका थिए भने उनकै निर्देशनमा ‘कमेडी च्याम्पियन’ पनि प्रशारण भएको थियो । यो शोमा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भिरमान सिंह निर्माताको रुपमा रहनेछन् ।

यो शोमा १३ बर्ष भन्दा कम उमेरका बालबालिकाले मात्र सहभागीता जनाउन पाउनेछन् । शोको सुपरर जजको रुपमा सारंगा श्रेष्ठ रहनेछिन् । यस्तै, निर्णायकहरुमा तेरिया मगर, सुशान्त खत्री, रोहिया महर्जन रहनेछन् । शोको संचालन रीमा विश्वकर्मा र सुमन कोइरालाले गर्नेछन् ।

निर्देशक विशाल भण्डारीले राम्रो नृत्य गर्न सक्ने बालबालिकालाई अवसर दिने उद्देश्यले कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिए । उनले, अब राम्रो प्लेटफर्मको खोजीमा नेपालका बालबालिका विदेशका विभिन्न शोमा पुग्नु नपर्ने बताए ।

रियालिटी शोको विजेताले २५ लाख नगद पुरस्कार पाउनेछन् । यस्तै, दोश्रो हुनेले १५ र तेश्रो हुनेले नगद १० लाख पाउनेछन् । विजेताले कोरियोग्राफरसँग पाउने पुरस्कारको ५० प्रतिशत साझेदारी गर्नुपर्नेछ ।