कोरोनाले बन्द धनगढीको देवरिया वनस्पती उद्यान अझै खुलेन, पर्यटक गेटबाटै फिर्ता हुदैं

कोरोनाले बन्द धनगढीको देवरिया वनस्पती उद्यान अझै खुलेन, पर्यटक गेटबाटै फिर्ता हुदैं

धनगढी । कोरोना जोखिमका कारण बन्द गरिएको धनगढीको देवरिया वनस्पती उद्यान खुल्न सकेको छैनन् । कोरोना संक्रमणदर बढ्ने भन्दै करिब ९ महिना देखि बन्द रहेको वनस्पती उद्यान अझै पनि खुल्न नसकेको हो । उपमहानगरपालिका–७ स्थित रहेको वनस्पती उद्यानमा करिब ९ महिनादेखि ताला लगाईएको छ ।

बनस्पति अनुसन्धान केन्द्र कैलालीका सहायक बैज्ञानिक अधिकृत मदनराज भट्टले अहिले सम्म उद्यान खोल्न सरकारले कुनै पनि आदेश नदिएको जानकारी दिए । “हामीलाई अहिले सम्म खोल्ने निर्देशन कतैँ बाट आएको छैन’,उनले भने,‘प्रशासनले बन्द गर्न लगाएको हो खोल्ने निर्देशन आयो भने खोल्छौं ।”

पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको उद्यानमा अहिले पनि ताला लगाएका कारण पर्यटकहरु बाहिरैबाट फर्किएर जाने गरेका छन । विगतका बर्षमा यो समयमा उद्यानमा पर्यटक लगायत टाढा–टाढाबाट अनुसन्धान गर्न आउने विद्यार्थीको भिड हुने गरेको थियो ।

तर यो बर्ष भने कोरोनाका कारण उक्त क्षेत्र बन्द हुदाँ घुम्न जाने पर्यटक पनि गेट बाटै फिर्ता जाने गरेका छन । यस्तै वनस्पति उद्यान सुदूरश्चिम क्षेत्रमा पाईने जडिबुटी संरक्षणका लागि पनि उतिकै महत्तपुर्ण स्थान हो ।

वनस्पति अनुसन्धान केन्द्र कैलालीको अनुसन्धान केन्द्र समेत रहेको यस उद्यानमा सुदूरपश्चिमा पाईने बिभिन्न जडीबुटी संगै लोपोन्मुख बिरुवा समेत संरक्षण गरिएका छन ।