१० करोडलाई खोप दिइसक्ने बाइडेनको घोषणा

१० करोडलाई खोप दिइसक्ने बाइडेनको घोषणा

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिइसक्ने लक्ष्य राखेको बताएका छन् ।

बाइडेनले आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य गर्न सम्भव नभए पनि त्यस अवधिमा कोभिड–१९ को बाटो भने परिवर्तन गर्ने बताए । यद्यपि उनले आफ्नो कार्यकालमा चालिने रणनीतिबारे भने प्रस्ट रूपमा केही बताएका बताएका छैनन् ।

बाइडेनले जनवरी २० मा आफ्नो कार्यकाल सुरु गर्दै छन् । आफ्नो स्वास्थ्य कार्यदललाई परिचय गराउँदै बाइडेनले अमेरिकीलाई सय दिनसम्म मास्क लगाउन आग्रह गरेका बीबीसले उल्लेख गरेको छ । अमेरिकी नियामकले फाइजर र बायोएनटेकले विकसित गरेको खोप ९५ प्रतिशतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ ।

 त्यसले अब उक्त खोप आपत्कालीन प्रयोगका लागि स्वीकृति दिन सकिने बाटो खोलेको छ । खाद्य तथा औषधि प्रशासन (एफडीए) ले सुरक्षाका कारण फाइजर र बायोएनटेकको खोपलाई स्वीकृति दिन रोक्नुपर्ने कुनै कारण नभेटिएको जनाएको हो । यूकेमा गतसाता स्वीकृति दिएर धेरै जनामा लगाउन सुरु गरिसकिएको यो खोपबारे अमेरिकाले पहिलोपटक यो तहमा बोलेको हो । औपचारिक निर्णयका लागि एफडीएले बिहीबार एउटा बैठक आह्वान गरेको जनाइएको छ ।

एफडीएको एउटा प्रकाशनमा उक्त खोप परीक्षणका विवरण भरपर्दो रहेका उल्लेख गरिएको छ ।

अमेरिका र यूके दुवै देशलाई उत्पादकहरूले खोपको सुरक्षा र प्रभावकारिताबारेको विशिष्ट तहका जानकारी उपलब्ध गराइएका थिए ।

अमेरिकाका वरिष्ठ संक्रामक रोगविज्ञ डा. एन्थोनी फाउचीले यूकेको खोप स्वीकृति दिने प्रक्रियाको आलोचना गरेको देखिएको भन्ने आफ्नो भनाइका लागि माफी मागेका थिए । एफडीएले प्रकाशित गरेको विस्तृत विवरणमा उसले उत्पादक कम्पनी फाइजरले भनेझै ९५ प्रतिशत प्रभावकारी रहेको जनाएको हो । तर पूर्ण सुरक्षाका लागि दुईवटै डोज आवश्यक पर्ने एफडीएले जनाएको छ ।

पहिलो डोजले निकै गम्भीर घटनामा ८९ प्रतिशत सुरक्षा दिने उसको भनाइ छ । खोपले कोभिड संक्रमित भइसकेकालाई पनि उस्तै सुरक्षा दिने बताइएको छ । एफडीएका अनुसार यो खोप लिने व्यक्तिहरूमा दुखाइको समस्या हुने, खोप लगाइएको स्थानमा रातो डाम हुने तथा सुन्निने समस्याहरू देखिन सक्छ । त्यसका साथै खोप लिएपछि छोटो समयका लागि थकान, टाउको दुख्ने र मांसपेसी दुख्ने समस्यासमेत देखिन सक्ने जनाइएको छ ।
गर्भवती महिला र १६ वर्षमुनिका बालबालिकामा यसको परीक्षण नगरिएकाले त्यो उमेर समूहमा त्यसले अझै स्वीकृति पाउने काम बाँकी रहेको जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकामा निर्मित खोपमा अमेरिकी नागरिकलाई पहिलो प्राथमिकता दिइने काम सुनिश्चित गर्न एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । अन्य देशमा खोप पठाउने सम्झौता गरिसकेका उत्पादकहरूका हकमा उक्त आदेश पनि के हुन्छ भन्नेबारे भने प्रस्ट छैन । -कान्तिपुर दैनिकमा खबर छ ।