नेपालसँग सम्बन्ध सुधार गर्न भारतबाट एकपछि अर्को भ्रमण

नेपालसँग सम्बन्ध सुधार गर्न भारतबाट एकपछि अर्को भ्रमण

काठमाडौं । सीमा विवादका कारण नेपालसँग बिग्रिएको सम्बन्ध सुधारका लागि भारतबाट एकपछि अर्को नेपाल भ्रमण भएको छ । भारतीय विदेश सचिव हर्षवर्धन शृंगला सचिवस्तरीय बैठकमा ११ मंसिरमा नेपाल आएर फर्केलगत्तै सत्तारूढ भारतीय जनता पार्टीका नेता तथा भाजपाका विदेश मामिला प्रमुख विजय चौथीवाल नेपाल आएका छन् ।

उनको भ्रमण पछिल्लो समय नेपाल र भारतबीच देखिएको समस्या समाधान र सम्बन्ध सुधारका लागि केन्द्रित रहेको छ । भारतीय विदेश सचिव शृंगला नेपाल आएर फर्केलगत्तै चिनियाँ रक्षामन्त्री नेपाल आएपछि पछिल्लो घटनाक्रम बुझ्न विदेश मामिला प्रमुख चौथीवाल नेपाल आएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट मानिएका चौथीवालले नेपालसँग सम्बन्ध सुधारका आयाम के हुन सक्छन् भन्ने विषयमा नेपालका नेताहरूसँग कुरा गरेका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा आफू काठमाडौं आएको र प्रधानमन्त्री र महासचिवसँग भेट भएको उल्लेख गरेका छन् । सीमा विवादका कारण लामो समयदेखि संवादहीनताको अवस्था रहेको थियो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रम मोदीसँग टेलिफोनमा कुराकानी गरेसँगै संवादको वातावरण सुरु भएको थियो । त्यसपछि भारतबाट नेपाल भ्रमण आउने क्रम बढेको हो ।

नेपालसँग सम्बन्ध सुधारका लागि नेपालका लागि भारतीय राजदूत विनयकुमार क्वात्राको भूमिकासमेत रहेको छ । दुई देशबीच संवादहीनता बढेपछि उनले नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेट गरेर वार्ताको वातावरण सिर्जना गरेका थिए ।

गत महिना भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवाणे र त्यसअघि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल नेपाल भ्रमणमा आएका थिए । २०७५ चैतमा नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौंमा सम्पन्न भएयता उच्च तहमा संवाद हुन सकेको थिएन । भारतसँगको संवादहीनता तोडिएपछि भारतबाट सरकारीस्तरबाट भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाको नेपाल भ्रमणले सहज परिस्थिति सिर्जना भएको हो ।

भारतले गत वर्ष १६ कात्तिकमा जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको लिपुलेकसम्मको भूभाग आफ्नोतिर राखेपछि सम्बन्धमा तिक्तता आएको थियो । त्यसपछि भारतले नेपालको भूभागबाट सडक सञ्जाल उद्घाटन गरेपछि सीमा विवादको समस्या झन् जटिल मोडमा पुगेको थियो । त्यसको प्रत्युत्तरमा नेपालले गत जेठमा नयाँ राजनीतिक नक्सा निकाल्दै लिम्पियाधुरासम्मकै भूभागलाई आफ्नोतर्फ नक्सांकन मात्रै गरेन, सबै दलको सहमतिमा नक्सा पास पनि ग-यो । तर सो सीमा विवादको समस्या अझै पनि यथावत् नै छ । सो विवादको विषयमा केही हप्तामै भारतमा हुन लागेको दुई देशको परराष्ट्र मन्त्रीस्तरीय बैठकमा भारतले कस्तो प्रतिक्रिया जनाउँछ, सो भने हेर्न बाँकी नै छ । नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयमा ऐतिहासिक तथ्य र प्रमाणका आधारमा सो भूमिका विषयमा आफ्नो स्पष्ट कुरा राख्ने बताइसकेका छन् । -राजधानी दैनिकमा खबर छ ।