चाखलाग्दा १० वैज्ञानिक सफलता

चाखलाग्दा १० वैज्ञानिक सफलता

२०१८ ले विश्वमा विज्ञान तथा खाेजबारे नयाँ सम्भावना जगाएको छ । कृत्रिम बौद्धिकता (एआई)देखि रकेट र अन्तरिक्षसम्म जीवन तथा मानव इतिहासबारे धेरै नयाँ जानकारी प्राप्त भए ।  जसमध्ये वर्षका केही चाखलाग्दा सफलता यहाँ प्रस्तुत गरिएको छ  ।

१. स्पेसएक्सको रकेट 

स्पेसएक्सले विश्वको अहिलेसम्मकै सबैभन्दा क्षमतावान् रकेछ ‘फाल्कन हेभी’को पहिलो सफल उडान गरेको थियो । यो रकेटको विशेषता यसलाई पुनः प्रयोग गर्न सकिन्छ । अन्तरिक्षमा पुगेर यो रकेटले टेस्लाको कारलाई शून्यमा छाडेको थियो । यो पृथ्वीबाट अन्तरिक्षमा पुगेर दुईपटक ल्याण्ड गर्ने पहिलो रकेट हो ।

कम्पनीका सीईओ एलन मस्कले यसले चन्द्रमा र मंगल ग्रहमा मानिस पठाउने योजनाको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताए । 

२. किलोग्राम मापनको नयाँ प्रणाली 

१९८९ देखि विश्वको वजनको मापन भइरहेको किलोग्रामको मापन प्रणाली फेरिएको छ । गत नोभेम्बर महिनामा ५० देशले एकमत हँुदै नयाँ प्रणाली स्वीकार गरेका हुन् । अब किलोको मापन ‘विद्युतीय किलो’बाट हुनेछ । फ्रान्समा राखिएको प्लेटिनम मिश्रणको वजन मापनको सट्टामा नयाँ विद्युतीय प्रणालीको प्रयोग गर्न लागिएको हो । यसबाट वजनमा हरफेर हुने समस्या हुँदैन । यसलाई पहिलाको जस्तो ताला बन्द गरेर राख्नुपर्ने समस्या हुँदैन । 

३. चीनको प्रयोग 

चिनियाँ वैत्रानिकले नोभेम्बरमा भ्रूण परिवर्तन गरी जुम्ल्याहा बच्चाको सफलताका साथमा जन्म दिएका छन् । यी दुई बच्चीको भ्रूण यसरी परिवर्तन गरिएको थियो कि उनीहरु कुनै किसिमको बिरामीको समस्यामा पर्नेछैनन् । यसमा एचआईभी संक्रमण सबैभन्दा प्रमुख हो । यो प्रयोग सफल भएको खण्डमा मानव जीवनको अस्तित्वको नयाँ मार्ग भेटिनेछ । यसबाट कुनै पनि प्रकारको जन्मजात बिरामीबाट मानिसलाई बचाउन सकिन्छ । 

४. मंगलमा भेटियो अनौठो चट्टानको आकृति 

मंगल मिसनमा सन् २०११ मा नासाले पठाएको क्युरियोसिटी रोवरले चट्टानमा अनौठो आकृति फेला पारेको थियो । सो आकृति प्रकृतिक हिसाबले बनेको हो वा कुनै जीवजन्तुले बनाएका हुन् भन्ने विषयमा भने अहिलेसम्म तय हुन सकेको छैन । 

५. दक्षिण अफ्रिकामा भेटियो ७३ हजार वर्ष पुरानो पेंटिङ

गत सेप्टेम्बर महिनामा दक्षिण अफ्रिकाको केप टाउन नजिकै ब्लोमबोस नाम गरेको गुफाको चट्टानमा एक रेखाकृतिको खोज गरिएको थियो । यसलाई करीब ७३ हजार वर्ष पुरानो रहेको मानिएको थियो । यो अहिलेसम्मकै पुरानो खोज हो । 

६. स्वचालित कार दुर्घटना 

स्वचालित कार अबको भविष्य रहेको बताइँदै आएकोमा उबरले चलाएको स्वतालित कारले मार्च महिनामा एक महिलालाई ठक्कर दिएको थियो । महिलाको ज्यान गएसँगै उबरले स्वचालित कारबाट आफ्नो सेवा बन्द गरेको थियो । यसलाई स्वचालित मेसिनबाट भएको पहिलो मृत्यु मानिएको छ । यद्यपि विश्लेषकहरुले भने यसलाई परिपक्व बनाएर चलाउनुपर्ने आवश्यकता रहेको बताए । 

७. ३७ अर्ब १० करोड टन कार्बन उत्सर्जन 

ग्लोबल कार्बन प्रोजेक्टका अनुसार २०१८ मा विश्वमा ३७ अर्ब १० करोड टन कार्बन उत्सर्जन भएको थियो । यसको प्रमुख कारण कारको संख्या बढ्नु तथा चीनमा कोइलाबाट बिजुली निकालिनु रहेको बताइएको छ । यसको असर जलवायु परिवर्तन, तापमानमा वृद्धि तथा समुद्रको जलस्तर बढ्नेजस्ता रुपमा आउनसक्ने आशंका गरिएको छ । 

८. पढाइमा औसत मानिसभन्दा एआई अगाडि 

एआई प्रोग्राम विकास गरिरहेका माइक्रोसफ्ट र अलिबाबा कम्पनीले अहिले सँगै काम गरिरहेका छन् । उनीहरुले १५ जनवरीमा सार्वजनिक गरेको परिणामा एआई प्रोग्रामले एक औसत मानिसभन्दा राम्रोसँग पढेर बुझ्ने क्षमता राख्ने गरेको पाइएको थियो । 

९. युरोपामा भेटियो पानी भएको संकेत 

बृहस्पति ग्रहको उपग्रह युरोपामा पानी भएको संकेत भेटिएको छ । यसमा मानव जीवनको सबैभन्दा धेरै सम्भावना रहेको बताइएको छ । यद्यपि पृथ्वीदेखि युरोपासम्मको दूरी अत्यधिक रहेको कारण त्यहाँ पुग्नु निकै ठुलो चुनौती रहेको बताइएको छ । यद्यपि जीवन सम्भव भएको खण्डमा त्यहाँ पुग्नु असम्भव भने होइन । 

१०. कृत्रिम कोर्नियाले फर्काउँछ आँखाको ज्योती 

चिकित्सा विज्ञानको क्षेत्रमा अमेरिकाको फुड एण्ड ड्रग प्रशासन विभाग विश्वको पहिलो विभाग हो, जसले कृत्रिम आँखा लगाउने अनुमति दिएको छ । यो अनुमति पुलतीको कारण आँखाको ज्योती गुमाएका मानिसहरुका लागि दिइएको हो ।