यो वर्षको एसईई कहिले र कसरी सञ्चालन गर्ने टुंगो नलाग्दा विद्यार्थी, शिक्षक र अभिभावक अलमलमा

यो वर्षको एसईई कहिले र कसरी सञ्चालन गर्ने टुंगो नलाग्दा विद्यार्थी, शिक्षक र अभिभावक अलमलमा

काठमाडौँ । यो वर्षको एसईई कहिले र कसरी सञ्चालन गर्ने टुंगो नलाग्दा विद्यार्थी, शिक्षक र अभिभावक अलमलमा छन् । कोरोना महामारीका कारण गत वर्षको एसईईमा विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशन गरेको थियो ।

यस पटक मंसिर अन्तिम सातासम्म विद्यार्थीबाट परीक्षा आवेदन फारामसमेत संकलन गरिएको छैन । 

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमका कारण २०७६ को एसईई आन्तरिक मूल्यांकनका आधारमा गर्ने र आगामी वर्षदेखि परीक्षाबारे शिक्षा ऐनले टुंगो गर्ने बताएका थिए । संसद्को हिउँदे अधिवेशनमा ऐन जारी गर्ने सुरसार छैन । विगतको जस्तै परीक्षा गर्न भदौ/असोजभित्र विद्यार्थीबाट परीक्षा आवेदन फाराम भराएर तथ्यांक पनि संकलन गरिएको छैन । सामान्य अवस्थामा चैतमा परीक्षा सञ्चालन हुँदै आएको थियो । त्यसका लागि मंसिरदेखि नै प्रश्नपत्र छपाइलगायत तयारीको काम हुन्थ्यो । यसपालि परीक्षा नियन्त्रण कार्यालयमा तयारीसम्बन्धी कुनै गतिविधि छैन ।

राष्ट्रिय परीक्षा बोर्डले यसपालिको परीक्षा कसरी र कहिले सञ्चालन गर्ने भनेर शिक्षा मन्त्रालयसँग जवाफ मागेको छ । मन्त्रालयलाई एसईईका विषयमा एक महिनाअघि नै पत्राचार गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । ‘मौजुदा कानुनले केन्द्रले नै परीक्षा सञ्चालन गर्नु भन्छ, शिक्षा नीतिले प्रदेशले एसईई लिने भनेको छ,’ उनले भने, ‘यही अन्योल हटाउन मन्त्रालयलाई पत्राचार गरेका छौं, कुनै जवाफ आएको छैन ।’ केन्द्र वा प्रदेश जसले परीक्षा सञ्चालन गरे पनि परीक्षार्थीको संख्या यकिन गरेर तयारी थाल्नुपर्ने बोर्डका कर्मचारी बताउँछन् । अध्यक्ष पौडेलले यस पटक वैशाखदेखि विद्यालय सञ्चालन नभएकाले चैतमा परीक्षा हुन नसक्ने जनाए ।

शिक्षा मन्त्रालयले परीक्षा सञ्चालनका विषयमा सरोकारवाला पक्षसँग छलफल गरेर रायसुझाव लिइरहेको जनाएको छ । विद्यालय शिक्षा महाशाखाका सहसचिव दीपक शर्माले एसईई सञ्चालनका लागि चार विकल्पमा छलफल भइरहेको जानकारी दिए । उनका अनुसार विगतमा जस्तै केन्द्रले नै परीक्षा लिने, प्रदेशस्तरबाट परीक्षा गर्ने, कक्षा ८ जस्तै स्थानीय तहबाट परीक्षा गराउने र कक्षा ९ र ११ मा जस्तै विद्यालयबाटै एसईई परीक्षा लिने विकल्पमा छलफल भइरहेको छ ।

‘शिक्षाविद्, संघीय निकाय, प्रदेश सरकार र सामाजिक मन्त्रालय, स्थानीय तह, जनप्रतिनिधि र शिक्षकसँग छलफल गर्दा यी विकल्प आएका हुन् । यी विकल्पका सबल र कमजोर पक्ष केलाइरहेका छौं,’ शर्माले भने, ‘छलफल अन्तिम चरणमा पुगिसकेको छ, कहिले र कसरी एसईई सञ्चालन गर्ने टुंगो केही दिनमै लाग्छ ।’ -कान्तिपुरदैनिकमा खबर छ ।