भाइरसको म्युटेसनः बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार भेटियो

भाइरसको म्युटेसनः बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार भेटियो

बेलायतमा कोरोनाभाइरसको नयाँ प्रकार फेला परेको छ । केही भागमा यो तीव्र गतिमा फैलिरहेको त्यहाँका सांसदहरुलाई जानकारी दिइएको छ ।

स्वास्थ्य सचिव म्याट ह्यानककका अनुसार कम्तिमा ६० स्थानीय अधिकारीहरुले नयाँ प्रकारको कोरोनाभाइरसबाट संक्रमित बिरामीहरु फेला परेको जानकारी दिएका छन् । उनले यसबारे विश्व स्वास्थ्य संगठनलाई जानकारी दिइसकेको र बेलायती वैज्ञानिकहरुले पनि विस्तृत अध्ययन गरिरहेको बताए ।

यद्यपि, भाइरसको यो नयाँ प्रकारले बिरामीको अवस्थालाई थप ‘खराब’ वा खोपले काम नगर्ने बनाउने ‘कुनै संकेत’ फेला नभएको उनको दाबी थियो ।

गत हप्ता सांसदहरुलाई जानकारी दिँदै ह्यानककले लण्डन, केन्ट, एसेक्स र हेर्टफोर्डसायरमा भाइरस तीव्र गतिमा फैलिएको बताए । ‘हामीले यस नयाँ प्रकारको भाइरसबाट संक्रमित कम्तिमा १ हजार बिरामी फेला पारेका छौँ विशेष गरेर दक्षिण बेलायतका ६० भन्दा बढी स्थानीय क्षेत्रमा,’ उनले भने ।

‘हामीलाई यो नयाँ प्रकारबारे धेरै जानकारी छैन तर खोप कार्यक्रम अघि बढाइँदै गर्दा यसलाई नियन्त्रण गर्न हामीले चाँडो र निर्णायक कारवाही गर्न आवश्यक छ,’ उनको भनाइ थियो ।

बेलायतका चिफ मेडिकल अफिसर प्रोफेसर क्रिस विटीका अनुसार अहिलेको कोरोनाभाइरसको स्वाब परीक्षणले कोरोनाभाइरसको नयाँ प्रकारलाई पत्ता लगाउने र यो विशेष गरेर केन्ट र त्यस आसपासका क्षेत्रमा पाइएको बताए ।

भाइरसको नयाँ प्रकारमा त्यसको स्पाइक प्रोटिनमा म्युटेसन भएको पाइएको छ । यसले भाइरसको व्यवहारमा के–कस्तो परिवर्तन गर्छ भन्ने खुलेको छैन । -बीबीसी