देशभर चिसो बढ्यो : न्यूनतम तापक्रम अझै घट्ने क्रम जारी

देशभर चिसो बढ्यो : न्यूनतम तापक्रम अझै घट्ने क्रम जारी

देशभरी नै चिसो ह्वात्तै बढेको छ । देशैभर न्यूनतमसँगै अधिकतम तापक्रम घटेपछि चिसो ह्वात्तै बढेको हो । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार पाँच दिनमा देशभर न्यूनतम तापक्रम ३ देखि ११ डिग्री सेल्सियससम्म घटेको छ । 

गत बिहीबार न्यूनतम तापक्रम १५ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको नेपालगन्जको मंगलबारको तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ। 

यस्तै मंगलबार जुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । यसअघि गत बिहीबार जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ६ डिग्री सेल्सियस थियो । 

यस्तै गत बिहीबार ९ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको मंगलबारको तापक्रम यो वर्षकै कम ३ डिग्री सेल्सियसमा झरेको थियो । बुधबार बिहान भने थोरै बढेर काठमाडौंको तापक्रम ३ दशमलव ५ डिग्री मापन गरिएको महाशाखाका मौसमविद् राजु प्रधानाङगले जानकारी दिए । तर पौने ८ बजेसम्ममा यो तापक्रममा गिरावट आउन सक्ने उनको अनुमान छ । 

अहिले देशमा पश्चिमी वायुको आंशिक र अरब सागरमा रहेको न्युनचापीय क्षेत्रको प्रभावले प्रदेश २ र बागमती प्रदेशका भू–भागहरुमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केही भू–भागहरुमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार बुधबार दिउँसो प्रदेश १, २ र गण्डकी प्रदेशका भू–भागमा आँशिक देखि सामान्य बदली हुने र अरु ठाउँको मौसम आंशिक बदली रहनेछ । 

यस्तै राति  देशको पहाडी भू–भागहरुमा आँशिक बदली भए पनि अरु ठाउँको मौसम सामान्यतया सफा रहनेछ । राति आकाश खुले बिहान न्यूनतम तापक्रम घटेर चिसो बढ्नेछ ।