पिजी परीक्षाको लागि बाटो खुल्यो

पिजी परीक्षाको लागि बाटो खुल्यो

चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तह पिजी को प्रवेश परीक्षाका लागि बाटो खुलेको छ।

सर्वोच्च अदालतमा चलिरहेको मुद्धा किनारा लागेपछि परीक्षाको लागि बाटो खुलेको हो।

अदालतमा पिजीका विषयमा विदेशी कोटा, आरक्षण, सरकारी र करार लगायतका विषयमा मुद्दा परेको थियो। उक्त मुद्दामध्ये आरक्षणका विषयमा निर्देशनात्मक आदेश जारी भएको छ भने अन्य मुद्दा खारेज भएको छ।

अदालतको आदेशसँग अब पिजी परीक्षाकालागि बाटो खुलेको चिकित्सा शिक्षा आयोगका प्रवक्ता डिल्लीराम लुईटेलले जानकारी दिए। 

‘परीक्षा हुने गरी फैसला आएको छ,’ उनले भने, ‘फैसला आएपछि परीक्षाका विषयमा सूचना निकाल्ने छौं।’

यसअघि चिकित्सा शिक्षा आयोगले असोज २७, २८ र २९ गते परीक्षा मिति तोकेको थियो। तर सर्वोच्च अदालतको असोज २२ गतेको अन्तरिम आदेश पछि परीक्षा स्थगित भएको थियो।

न्यायाधिसहरुले यी सबै मुद्दाका विषयमा एकिकृत छलफल गरेर मात्र अगाडि बढ्ने राय दिएका थिए। मंसिर २८ गते पहिलो पेशी तोकिएको थियो। मंसिर २९र ३० र आज भएको बहसपछि अदालतले परीक्षा गर्नका लागि बाटो खोल्ने आदेश दिएको हो।

स्नातकोत्तर परीक्षाका लागि ७ हजारभन्दा बढीले फर्म भरेका छन्।

आयोगले एमडि र एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिई, एमएन, एमएससी नर्सिङ, एम फर्मा, एमएससी एमआइटी लगायतका विषयमा परीक्षाको तयारी गरेको थियो।