आजदेखि जोर-बिजोर प्रणाली हट्यो, मापदण्ड पालना नगरि गाडी चलाए कारबाही गरिने

आजदेखि जोर-बिजोर प्रणाली हट्यो, मापदण्ड पालना नगरि गाडी चलाए कारबाही गरिने

काठमाडाैं। काठमाडौं उपत्यकामा आजदेखि गाडीमा लागू गरिएको जो-बिजोर प्रणाली हटेको छ । बिहीबार तीनवटै जिल्लाको कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को संयुक्त बैठकले जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

अन्य क्षेत्र खुले पनि यातायात क्षेत्र पूर्ण रुपमा नखुलाइएको भन्दै यातायात व्यवसायीले जोर-बिजोर प्रणाली नमान्ने बताएका थिए । व्यवसायीको चौतर्फी दबाबपछि हिजो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरुको छलफलले आजदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको थियो ।

जोर-बिजोर प्रणाली हटाइए पनि कोरोना सङ्क्रमणको जोखिम रहेका कारण गाडी सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड भने पूर्ण रुपमा पालना गर्नुपर्नेछ । व्यवसायीले मापदण्ड पालना नगरि गाडी चलाएमा अनुगमन गरी त्यस्ता व्यवसायीहरुलाई कारबाही गरिने काठमाडौं जिल्ला प्रशासनले चेतावनी दिएको छ ।

गाडी सञ्चालकहरुले सङ्क्रमणको अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका २०७७ को पूर्ण पालना भए-नभएको सम्बन्धमा ट्राफिक प्रहरीलगायतका निकायले अनुगमन गर्ने प्रशासनले जनाएको छ ।

निर्देशिका अनुसार बस चलाउनु अघि अनिवार्य रूपमा ‘स्यानिटाइज’ गर्नुपर्छ । सार्वजनिक यातायातमा चढ्ने यात्रुले अनिवार्य रूपमा मास्क र सेनिटाइज र प्रयोग गर्नु पर्नेछ । मास्क प्रयोग नगरेका यात्रुलाई सवारीसाधन चढ्न दिइने छैन ।

कहाँबाट कहाँसम्म यात्रा गर्ने हो त्यसका लागि तिर्नुपर्ने भाडाको रकम यात्रुले खुद्रा बोकेर हिँड्नुपर्नेछ । खुद्रा नबोक्नेसँग सहचालकले टिकट लेनदेन गर्ने छैनन् । बसमा भाडा लिनका लागि एउटा बक्स राख्नुपर्नेछ । यात्रुले उक्त बक्समा भाडाको रकम राखिदिनु पर्नेछ ।

चालकलाई बस्ने ठाउँलाई खुल्ला राख्न पाइने छैन । प्लास्टिक वा अन्य वस्तुले बार्नु पर्नेछ । चालक र यात्रुका बीचमा कुनै सम्पर्क नहोस् भनेर चालक बस्ने ठाउँलाई सिल गर्न लागिएको हो । बसभित्र पनि चढेकाले भौतिक दूरी कायम गर्नुपर्छ ।

एउटा सिट छाडेर मात्रै बस्न पाइन्छ । सवारी साधनले सिट क्षमताभन्दा आधामात्रै यात्रु चढाउन पाउनेछन् । ३६ सिटको गाडी छ भने १८ जनामात्रै यात्रु चढ्न पाउने छन् । उभ्याएर यात्रा गराउन पाइने छैन ।

२०७६ चैत ११ देखि लकडाउन घोषणा गरिएको थियो । त्यसको ४ महिनापछि लकडाउन हटाइएपनि सार्वजनिक सवारी पूर्णरूपमा खुलाइएको थिएन ।

कोरोना महामारीको कारण देखाउँदै गत भदौ ३ गतेदेखि अत्यावश्यक सेवा बाहेकमा लगाइएको निधेषाज्ञा असोज १ बाट हटाइएको थियो तर त्यसपछि भने उपत्यकामा अत्यावश्यक बाहेकका सेवा बाहेकका सवारीमा जोरबिजोर लगाइएको थियो ।