शिखर सम्मेलन नहुँदा अन्योलग्रस्त बन्यो सार्क

शिखर सम्मेलन नहुँदा अन्योलग्रस्त बन्यो सार्क

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९औं शिखर सम्मेलन ‘कहिले हुने ?’ भन्ने अझै अन्यौल बनेको छ । सन् २०१६ मा पाकिस्तानमा गर्न पर्ने सार्क शिखर सम्मेलन भारत र पाकिस्तानको तनाबका कारण हुन सकेन ।

पाकिस्तानमा हुने भनिएको १९औं शिखर सम्मेनलमा भारतसँगै भुटान, बंगलादेश र अफगानिस्तानले पनि सहभागि नहुने भनेपछि अन्तिम समयमा स्थगित भएपछि सन् २०१४ देखि नेपाल सार्क नेतृत्वमा छ । शिखर सम्मेलन हरेक मुलुकमा पालै—पालो गर्ने भनिए पनि सार्क राष्ट्रबीचको आपसी टकरावका कारण समयमा हुन सकेको छैन । सुरुमा चार शिखर सम्मेलन लगातार भए पनि त्यसपछि अनिश्चित बनेको छ ।

सम्मेलन अन्यौल बेनकै बेला कोभिड—१९ विरुद्धको सहकार्यमा पनि सार्क राष्ट्रबीच आपसी सहमति जुट्न मुस्किल प¥यो । सार्क राष्ट्रलाई समेट्नेगरी कोभिड—१९ आपतकालीन कोष स्थापना भए पनि सार्क सम्मेलनबारे भने अझै अन्यौल कायम छ । अब पनि सार्क सम्मेलन नभए यसको औचित्य माथि प्रश्न उठ्न सक्ने परराष्ट्रका अधिकारी बताउँछन् । पाकिस्तानमा सार्क शिखर सम्मेलन हुन नसके त्यसको नेतृत्व नेपाल आफैंले गर्न पर्ने कुटनीतिज्ञको भनाई छ ।

अब सार्क शिखर सम्मेलन भारतले चाहेमात्रै सम्भव देखिन्छ । भारतको एक सैनिक शिविरमा भएको आतंककारी हमलामा भारतले पाकिस्तानको संलग्नता आरोप लगाउँदै सम्मेलनमा नजाने बताएको थियो । भारत नजाने भनेपछि अन्य तीन मुलुकले पनि नजाने घोषणा गरेपछि शिखर सम्मेलन अन्यौल बन्न पुगेको हो ।

प्रत्येक दुई वर्षमा पालैपालो सार्क शिखर सम्मेलन हुनुपर्ने थियो । यो क्रमले निरन्तरता पाएको भए अहिले २१ औँ सार्क शिखर सम्मेलन हुनुपर्ने थियो । तर, ६ वर्षअघि नै तय भएको १९औं सार्क शिखर सम्मेलन अनिश्चित बन्दा सार्क सम्मेलन मात्रै होइन संगठनको अस्तित्वमाथि नै प्रश्न उठ्न थालेको छ ।

नेपालले पनि सार्क शिखर सम्मेलन विषयमा पछिल्लो समय खासै चासो दिएको पाइ“दैन । सार्क शिखर सम्मेलन यसअघि बढीमा चार वर्षसम्म लम्बिएको थियो । तर, यो पटक पनि भारत र पाकिस्तानको विवादका कारण सात वर्ष पुग्दा पनि अनिश्चत बनेको छ । नियमित भएको भए यतिबेला पाकिस्तान त्यसपछि श्रीलंका हुँदै अफगानिस्तानले समेत शिखर सम्मेलन गरिसक्ने थिए ।

दक्षिण एसियाली क्षेत्रबाट अभाव, अशिक्षा एवं गरिबी हटाई यस क्षेत्रका नागरिकमा सामूहिक आत्मनिर्भरता विकास उद्देश्यले ८ डिसेम्बर १९८५ मा सार्क स्थापना भएको हो ।

यस क्षेत्रका सात राष्ट्र नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान र मालदिभ्स संस्थापक रहेको संगठनमा पछि यसै क्षेत्रको अर्को देश अफगानिस्तान पनि सदस्य बनेको छ ।

३२ वर्षको अवधिमा यसले एकाध सामाजिक आर्थिक क्षेत्रमा काम गरेको छ । सार्कले यस क्षेत्रमा शिक्षा, गरिबी निवारण, स्वास्थ्य, वातावरण, सञ्चार, महिला सशक्तिकरण बाल विकासलगायतका धेरै क्षेत्रमा काम गरेको छ । तर पछिल्लो समय सार्क शिखर सम्मेलनको अनिश्चित बनेपछि यसको औचित्व माथि प्रश्न उठ्न थालेको छ । -राजधानी डेली