धनगढीको चौराहामा ट्राफिक नियम पालना गराउँदै डमी ट्राफिक !

धनगढीको चौराहामा ट्राफिक नियम पालना गराउँदै डमी ट्राफिक !

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको चौराहामा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक डमी राखेको छ । ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्युनिकरणको लागि भन्दै ट्राफिक प्रहरीले चौराहामा ट्राफिक डमी राखेको हो ।

तालुक सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाबाट प्राप्त ट्राफिक डमी धनगढी स्थित ट्राफिक चौराहामा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बिरेन्द्र बोहराले लेन अनुशासन कायम गर्न ट्राफिक डमीले महत्वपुर्ण भुमिका खेल्ने जानकारी दिए ।

उनले टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने र ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने बताए । लेन अनुशासन कायम गर्ने, ट्राफिक नियमको पालना गर्ने र सवारी दुर्घटना न्यनिकरणमा पनि सहयोग पुग्ने अपेक्षा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बोहराको भनाई छ ।

धनगढीका अन्य स्थानमा पनि ट्राफिक डमी राख्न र गोप्रो क्यामराको लागि उपमहानगरपालिका सँग समन्वय गरिएको छ । धनगढीको व्यस्त हुने चौराहामा डमीबाट सवारी चालकलाई मात्र होइन पैदलयात्रीलाई समेत ट्राफिक नियमबारे सचेतना जगाउन सघाउ पुग्ने अपेक्षा गरिएको छ । ट्राफिक प्रहरीको अभाव अब यिनै डमीले पूरा गर्ने छन । ट्राफिक चौराहामा राखिएको डमीमा लेखिएको छ, 'ट्राफिक नियम उल्लघंन गरेमा रु ५०० देखि रु १० हजार सम्म जरिवाना हुनसक्छ ।'

सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयको अभिलाषा, प्रबिधिमैत्री ट्राफिक व्यवस्थापनमा स्थानिय तहको सहभागिता भन्ने सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयको मुल नारालाई आत्मसाथ गर्दै ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्युनिकरणको चौराहामा ट्राफिक डमी राखिएको हो ।