कोरोनाभाइरस संक्रमणको मामिलामा भारत पनि करोडपति, संक्रमित १ करोड नाघ्ने भारत दोस्रो देश

कोरोनाभाइरस संक्रमणको मामिलामा भारत पनि करोडपति, संक्रमित १ करोड नाघ्ने भारत दोस्रो देश

नयाँ दिल्ली । कोरोनाभाइरस संक्रमणको मामिलामा भारत पनि करोडपति भएको छ । भारतमा कोरोनाभाइरस संक्रमितको संख्याले १ करोड नाघेको छ । संक्रमितको संख्याले १ करोड नाघ्ने भारत दोस्रो देश बनेको छ । यसअघि अमेरिकामा संक्रमितको संख्या १ करोड पुगिसकेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या कूल सक्रिय संक्रमितको तुलनामा ३० प्रतिशत अधिक छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशमा विगत केही कप्तामा कोरोनाभाइरसको औसत दैनिक पोजेटिभ देखिने दरमा लगातार गिरावट आइरहेको छ । अर्कोतर्फ कोरोनाभाइरस संक्रमणपछि रिकभरी दरमा वृद्धि भएको छ ।

जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या १ करोड ४ हजार ८२५ पुगेको छ । १ लाख ४५ हजार १७१ जनाको मृत्यु भएको छ । ९५ लाख ४९ हजार ९२३ जना निको भएका छन् र अहिले कूल सक्रिय संक्रमितको संख्या ३ लाख ९ हजार ७३१ छ । यीमध्ये ८ हजार ९४४ जना बिरामीको अवस्था गम्भीर छ । सबैभन्दा धेरै संक्रमित भएको देश अमेरिकामा अहिलेसम्म कूल संक्रमितको संख्या १ करोड ७८ लाख ८८ हजारभन्दा धेरै भइसकेको छ ।