वर्तमान राजनीतिक घटनाक्रम अर्थतन्त्रका लागि दुर्भाग्यपूर्ण: निजी क्षेत्र

वर्तमान राजनीतिक घटनाक्रम अर्थतन्त्रका लागि दुर्भाग्यपूर्ण: निजी क्षेत्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद् विघटन भएपछि उत्पन्न परिस्थितिप्रति निजी क्षेत्रले चिन्ता व्यक्त गर्दै पछिल्लो राजनीतिक घटनाक्रम मुलुकको अर्थतन्त्रका लागि दुर्भाग्यपूर्ण भएको बताएको छ । २०६२÷६३ को जनआन्दोलनबाट हातलागेको लोकतन्त्र प्राप्तिसँगै संविधान बनेपछि झन्डै दुई तिहाइ बहुमतसहित निर्वाचित नेकपा सरकारले नै राजनीतिक अवस्था तरल बनाउने गरी संसद् विघटनको खेल खेलेपछि अहिले निजी क्षेत्र थप निराश भएका हुन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी हुन् । पछिल्लो समय दुई तिहाइको बलियो सरकारमा रहेको नेकपाभित्रको आन्तरिक कलहकै कारण विवेक गुमाएको राजनीतिक दलका नेताको कमजोरीले निजी क्षेत्रलाई थप संकटमा पारेको अधिकांश व्यवसायीको भनाइ छ । उनीहरूको संसद् विघटनपछि उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रम मुलुकको अर्थतन्त्रका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिसकुमार मोरले संसद् विघटनपछि उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रम मुलुकको अर्थतन्त्रका लागि दुर्भाग्यपूर्ण भएको बताए । अहिले विकास भइरहेको घटनाक्रमले शुभ संकेत नगरेको भन्दै उनले राजनीतिक दलका नेताले निजी क्षेत्रको अपेक्षामाथि ठूलो चोट पु-याएको बताए ।

यसैगरी, उनले जनमत नै धरापमा पर्नेगरी भइरहेका राजनीतिक खिचातानीले देशभित्र उद्यम र लगानीको वातावरण थप बिग्रिने बताए । संसारभरको अभ्यास हेर्ने हो भने जुन मुलुकमा स्थिरता छ, सोही मुलुकमा लगानी जान्छ । त्यही मुलुकले आर्थिक विकासमा फड्को मारेका छन् भन्दै उद्योग परिसंघका अध्यक्ष मोरले भने, ‘हामीले लामो समयदेखि अस्थिरता भोग्दै आएका थियौं । पछिल्लो निर्वाचनपछि एक प्रकारको आशा र भरोसा पलाएको थियो । तर, आइतबार अकस्मात् भएको संसद् विघटन शुभ संकेत होइन ।’

उद्योगी व्यवसायी राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरता चाहन्छन् । जसका लागि राजनीतिक नेतृत्वको भूमिका निकै महŒवपूर्ण हुन्छ भन्दै उनले जनताले पाँच वर्षसम्म स्थिर रूपमा सरकार चलाउन दिएको जनमत नै धरापमा पर्नेगरी भएका यस्तो हर्कतले आमउद्योगी÷व्यवसायीलाई ठूलो चोटसहित निराश बनाएको बताए ।

यसैगरी, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले कोरोना महामारीले थला परेको मुलुकको अर्थतन्त्रलाई गति दिनुपर्ने बेलामा विवेक गुमाएका राजनीतिक दलबाट भएको यस्तो घटनाले उद्योगी÷व्यवसायी थप निराश बनेको बताए । उनले यस्ता गतिविधि एवं घटनाक्रमले मुलुकमा लगानीको वातावरण पनि बिग्रिने बताए । आइतबार अकस्मात् भएको संसद् विघटनलगायतका विकसित घटनाक्रम देशका लागि निकै दुर्भाग्यूर्ण भएको बताए । -राजधनीडेली