हिल्सा नाकामा माइनस १४ डिग्रीमा झर्‍यो तापक्रम

हिल्सा नाकामा माइनस १४ डिग्रीमा झर्‍यो तापक्रम

चीनसँग सीमा जोडिएको हिल्सा नाकामा तापक्रम माइनस १४ डिग्री सेन्टिग्रेडमा झरेको छ । जसले गर्दा चिसो अत्यधिक बढेको छ । 

केही दिनअघिको हिमपातले चिसो बढ्दा तापक्रम माइनस १४ डिग्री सेन्टिग्रेडमा झरेको हो । चिसो अत्यधिक बढेपछि पानीसमेत जम्न थालेको छ । सीमा सुरक्षामा रहेका बिओपीका इन्चार्ज सशस्त्र प्रहरीका इन्स्पेक्टर सुरज केसीले चिसो अत्यधिक बढेको बताए । 

चिसो बढ्दा कठिनाइ भएको उनको भनाइ छ । दिउँसो केही कम भए पनि बिहान–बेलुका र राति तापक्रम माइनसमा झर्ने गरेको उनले बताए । ‘कर्णाली नदीको छेउछाउतिर बरफ जम्ने गरेको पाइएको छ । धाराबाट पानी निकाल्नसमेत तातो पानी तताएर हाल्नुपर्ने अवस्था आएको छ,’ उनले भने । जसले गर्दा सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कठिनाइ भएको उनले बताए । 

अहिले हिल्सा नाकामा सशस्त्र प्रहरीको टोली र केही होटेलकुरुवा छन् । सशस्त्रको २० जनाको टोली र होटेलकुरुवा आठजना छन् । अन्य सबै बासिन्दा सदरमुकाम फर्किसकेका छन् ।  -नयाँ पत्रिकामा नरजन तामाङले लेखेका छन् ।