कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबारसमेत बस्दैछ । बुधबारको बैठकले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन सम्बन्धी गरेको निर्णयमाथि छलफल गरेको थियो । बिहीबारसमेत छलफल गरेर प्रधानमन्त्रीको संसद् विघटन सम्बन्धी निर्णयविरुद्ध आन्दोलनमा जाने तयारी कांग्रेसले गरेको छ । 

केन्द्रीय सदस्य प्रदिप पौडेलका बुधबारको बैठकमा आठजना केन्द्रीय सदस्यले मात्र धारणा राखेका छन् । पौडेलका अनुसार ओलीको संसद् विघटन सम्बन्धी कदमलाई कसरी लिने र त्यसविरुद्ध कस्ता गतिविधि गर्ने भन्ने विषयमा धारणा राख्नेक्रमले आज पनि निरन्तरता पाउने छ । 

कांग्रेसले प्रधानमन्त्री ओलीको यो कदमलाई असंवैधानिक भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने तयारी गरेको छ । बैठकमा आन्दोलनमा जाने विषयमा छलफल भए पनि आन्दोलनका कार्यक्रम भने तय भएको छैन ।  ओलीको कदमविरुद्ध आन्दोलनमा जाने विषयमा कांग्रेससमेत विभाजित भएको छ । 

बुधबारको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले तत्काल आन्दोलनमा जानु नहुने अडान लिएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीको असंवैधानिक कदमविरुद्ध तत्काल आन्दोलनमा जानुपर्नेमा जोड दिएका छन् । ‘बैठकमा बोल्ने केही सदस्यले तत्काल आन्दोलनमा जानुपर्ने धारणा राख्नु भएको छ’, नेता पौडेलले भने, ‘केही साथीहरुले भने अदालतको निर्णय पर्खिनुपर्छ भन्नु भएको छ ।’

बैठकमा सभापति देउवा र नेता पौडेलबीच यही विषयमा चर्काचर्कीसमेत भएको थियो। सभापति देउवा संसद विघटन सम्बन्धी विषयमा अदालतको निर्णय नआएसम्म पर्ख र हेरको अवस्थामा बस्ने तयारीमा छन् भने नेता पौडेल तत्काल आन्दोलनमा गएर दबाब दिनुपर्ने अडानमा छन् ।  बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे सुरु हुनेछ ।