निराश नवीना को न्यास्रो बोलीः भन्छिन्, 'इमानदार कार्यकर्ता हामी अहिले पार्टी विभाजनको औचित्य खोजिरहेका छौँ'

निराश नवीना को न्यास्रो बोलीः भन्छिन्, 'इमानदार कार्यकर्ता हामी अहिले पार्टी विभाजनको औचित्य खोजिरहेका छौँ'

काठमाडौं  विघटित प्रतिनिधि सभा सदस्य तथा अनेरास्ववियुकी पूर्वअध्यक्ष नवीना लामा नेकपाका कुनै गुटको भेलामा सहभागी भएकी छैनन्। सहभागी नहुनुको एक कारण घरायसी हो। तर राजनीतिक रुपमा पनि भेला–बैठकमा जाने जाँगर नचलेको उनी बताउँछिन्।

उनी भन्छिन्, ‘अन्तिममा एकतिर लाग्नैपर्ला। हामीजस्ता इमान्दार कार्यकर्ताले अहिले पार्टी विभाजनको औचित्य खोजिरहेका छौं।’

आफू निराश रहेको  र सपनाहरु टुटेको उनले बताइन्। उनलाई अहिले ओली पक्षले केन्द्रीय सदस्य बनाएको छ। तर नेता हुनुभन्दा आफू एकीकृत पार्टीको कार्यकर्ता हुनुमा खुसी रहेको उनको भनाइ छ।

उनले भनिन्, ‘एकीकरण गर्दै गर्दा नेकपाका हजारौं कार्यकर्ता र नेपाली जनताले समाजवादको सुन्दर बाटो देखेका थिए। सबैभन्दा राम्रो र ठूलो अनि कार्यकर्ता सुरक्षित गर्ने जनताको आशा र भरोसाको प्रिय पार्टी ठानिएको थियो।’

एक अर्काबीचको गुट ,इगो, हठ र बेमेलका कारण पार्टीको तल्लो तहका धेरै कमिटीले पूर्णता नपाउँदै सैद्धान्तिक, वैचारिक र राजनीतिक कारणविनै नेकपा विभाजित भएको उनलाई लागेको छ। उनी अझै पार्टी एकताकै पक्षमा रहेको बताउँछिन्। उनका अनुसार दुई समूह फरक बाटोबाट एकै ठाउँ फर्किनै नसक्ने भए एउटा बाटो समात्नुपर्नेछ। पूर्वनिकटताका हिसाबले पनि त्यो केपी ओलीले समातेको बाटो हुने उनले बताइन्।