राज्यमन्त्री मानन्धरको एकल गायनमा रेकर्ड

राज्यमन्त्री मानन्धरको एकल गायनमा रेकर्ड

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गरेका छन् । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन सुरु गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्डसम्म गीत गाएर रेकर्ड राखेका हुन् । यो क्रममा ५९ वटा विभिन्न एकल गीत गाएका थिए । बालाजुस्थित अष्टनारायण चलचित्र हलमा विशेष कार्यक्रमबीच मन्त्री मानन्धरले एकल गायन प्रस्तुति दिएका हुन् । 

मन्त्री मानन्धरले सबै गीतहरूको रोयल्टीसमेत तिरेर गाएको बताएका छन् । उनले नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारा देवी, अरुणा लामालगायतले गाएको गीतको ट्रयाकमा गाएका थिए । मानन्धरले ‘देशले रगत मागे मलाई बली चढाऊ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘ठूला ठूला महल होइन’लगायतका गीतमा मीठो स्वर दिए ।

यस किसिमको विधामा विश्वको पहिलो भएकाले वर्ल्ड बुक अफ रेकर्डमा पहिलोपटक राज्यमन्त्री मानन्धरको नाम लेखिएको हो, बेलायतमा मुख्यालय रहेको वर्ल्ड बुक अफ रेकर्डले मन्त्री मानन्धरको प्रयास विश्वकै पहिलो भएको जानकारी दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले मन्त्री मानन्धरलाई विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरिन् । -नयाँ पत्रिकाडेलीमा खबर छ ।