पाँच महिनाको अवधिमा सबैभन्दा धेरै भटमासको तेल निर्यात

पाँच महिनाको अवधिमा सबैभन्दा धेरै भटमासको तेल निर्यात

मुलुकबाट पाँच महिनाको अवधिमा सबैभन्दा धेरै भटमासको तेल निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ५० अर्बको निर्यात हुँदा १३ अर्ब ५० करोड ६३ लाख रुपैयाँबराबरको ९३ करोड ५५ लाख ९७ केजी भटमासको तेल निर्यात भएको हो ।

यो वर्ष भटमासको तेलको माग बढेकाले निर्यातमा उल्लेख्य वृद्धि भएको व्यवसायी बताउँछन । गत वर्ष सोही अवधिमा नेपालले ३ अर्ब ११ करोड ६३ लाख बराबरको २ करोड ४४ लाख ७५ हजार केजी भटमासको तेल निर्यात गरेको थियो ।

यस्तै चालु आवको पाँच महिनामा ५ प्रतिशतले निर्यात बढेर ५० अर्ब करोड ५५ करोड रुपैयाँबराबरको स्वदेशी वस्तु निर्यात भएको विभागको तथ्यांकले देखाएको छ । आयातमा सामान्य कमी भए पनि निर्यात भने बढ्दै गएको छ । व्यसायीहरूले तेस्रो मुलुकबाट भटमास (कच्चा पदार्थ) आयात गरेर नेपालमा पुनः रिफाइन गरी भारत पठाउँदै आएका छन् ।

दोस्रो नम्बरमा सबैभन्दा धेरै अलैंची निकासा भएको छ । यो वर्ष भारतमा अलैचीको उत्पादन कम भएका कारण बजारमा बढ्दो माग भएकाले भारततर्फ अलैंचीको निकासी बढी भएको व्यवसायीहरूको भनाइ छ । पाँच महिनाको अवधिमा मुलुकबाट ३ अर्ब ५ करोड १० लाख रुपैयाँ मूल्य बराबरको ३७ लाख ९० हजार केजी अलैंची निर्यात भएको छ ।
यस्तै सेन्थेटिक यार्न ३ अर्ब १३ करोड र ऊनी गलैंचा कार्पेट ३ अर्ब १० करोड रुपैयाँको निर्यात भएको छ । पाँच महिनामा ३ अर्ब ७ करोड रुपैयाँको अलैंची, २ अर्ब ५५ करोड रुपैयाँको चिया र २ अर्ब ५३ करोड रुपैयाँको तयारी कपडा निर्यात भएको छ ।

यस्तै १ अर्ब ९३ करोड रुपैयाँको कपडा र १ अर्ब ५६ करोड रुपैयाँको जुटबाट बुनिएका कपडा निर्यात भएको तथ्यांकमा उल्लेख छ । मुलुकबाट अधिकांश वस्तुको निर्यात छिमेकी मुलुक भारतमा हुने गर्छ ।
आर्थिक वर्ष ०७७-७८ को पाँच महिनामा विभिन्न भन्सारबाट ५० अर्ब ५० करोडको निर्यात हुँदा सबैभन्दा धेरै भन्सार कार्यालय वीरगञ्जले चालु आवको १५ अर्ब ५८ करोड ५४ लाखको सामान निर्यात गरेको छ । साथै उक्त भन्सारबाट १ खर्ब ६४ अर्ब २३ करोड ९८ लाख रुपैयाँ बराबरको आयात भएको छ ।

त्यसैगरी विराटनगर भन्सारबाट १२ अर्ब ७४ लाख ६७ लाख बराबरको वस्तु निर्यात गरेको छ । सोही अवधिमा उक्त भन्सारबाट भने ६४ अर्ब ९ करोड ७६ लाखको वस्तु आयात भएको छ । कोभिडको प्रभावले आयात कम हुँदा निर्यातमा सामान्य वृद्धि भए पनि उत्साहपूर्ण नभएको विज्ञहरुको भनाइ छ ।