नेपाल आयल निगमको नाफा बढ्यो

नेपाल आयल निगमको नाफा बढ्यो

काठमाडौं ।  नेपाल आयल निगमले एक वर्षको अवधिमा करिब १३ अर्ब रुपैयाँ नाफा कमाएको छ। पेट्रोलियम पदार्थको कारोबार गर्दै आएको निगमले एक वर्षको अवधिमा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा आर्जन गरेको हो। 

कोभिड—१९ को प्रभावका कारण इन्धनको खपत कम भए पनि निगमले झन्डै १३ अर्ब रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो। निगमले सार्वजनिक गरेको अन्तिम लेखा परीक्षण प्रतिवेदनअनुसार मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट इन्धन आयात गरी ढुवानी रकम बचत हुनुका साथै अघिल्ला वर्षको नाफा रकमको ब्याज आम्दानी बढेपछि निगमको नाफा बढेको हो। 

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार ब्याज आम्दानी, ढुवानी खर्चमा भएको बचत तथा एलपीजी ग्यासमा उपलब्ध गराइँदै आएको अनुदान घटेका कारण आर्थिक वर्ष २०७६÷७७ मा निगमको नाफा बढेर १२ अर्ब ८७ करोड पुगेको हो। 

समग्रमा निगमले ५ प्रतिशतको हाराहारीमा मुनाफा आर्जन गरेको पौडेलको भनाइ छ। पछिल्लो समय निगमले अवलम्बन गरेका सुधारका कार्यक्रमका कारण पनि नाफा बढ्न सहयोग पुगेको निगमको भनाइ छ।