एक बर्ष अघि मोटर साइकलको ठक्करबाट घाइते बोहराको मृत्यु

एक बर्ष अघि मोटर साइकलको ठक्करबाट घाइते बोहराको मृत्यु

धनगढी : धनगढी उपहानगरपालिकाको वडा नम्बर ७ मनेहरामा एक बर्ष अघि मोटर साइकलको ठक्करबाट घाइते भएका शिक्षक अर्जुन बोहराको हिजो राती मृत्यु भएको छ ।

चुरे गाउँपालिकामा रहेको शिब बहुमुखी क्याम्पसको कामले काठमाण्डौ गएर घर फर्किएका बोहरा मनेहरा घुम्न जाँदा मोटर साइकलले ठक्कर दिदाँ घाइते हुनुभएको आफन्तले जानकारी दिएका छन् ।

चुरे गाउँपालिकाको शिब माध्यमिक विद्यालय किम्तोलाका प्रधानाध्यापक समेत रहनुभएका बोहरा साझँपख घुम्न निस्कदाँ दुर्घटनामा पर्नुभएको थियो । टाउकोमा गहिरो चोट र दायाँ खुट्टा भाचिएका बोहरा दुर्घटना भएदेखि अचेत अवस्थामा रहेको र हिजो राति निधन भएको  उहाँका भाई नाता पर्ने हुकुम बोहराले जानकारी दिनुभयो ।

पाँच महिना सम्म भारतको हल्दवानी मा उपचार गराए पनि ठिक नहुदा उहाँको परिवारले घर फिर्ता ल्याएको थियो । अहिले सम्म उपचार गर्दा गर्दै करिब ६० लाख खर्च भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

उहाँको उपचार गराउँदा परिवारको समेत आर्थिक अवस्था कमजोर भइसकेको आफन्तजनले बताएका छन् । उहाँका ३ छोरी र एक छोरा रहेका छन । आर्थिक अवस्था कमजोर भएका कारण अहिले छोरा छोरीलाइ स्कुल पढ्न पनि समस्या भएको बताइएको छ ।  

दुर्घटना भएको ठाउँ बाट मोटर साइकल भेटेर सोही आधारमा ठक्कर दिने व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका व्यक्तिलाई प्रहरीले कार्वाही नै नगरी छोडेको आफन्तले आरोप लगाएका छन । विभिन्न संघ संस्था र राजनीतिक दलहरुलाई न्यायको लागी गुहार मागे पनि कसैले चासो नदेखाएको हुकुम बोहराले बताउनुभयो । 

पीडित परिवारले कैलाली जिल्ला अदालतमा मुद्धा दर्ता गरे पनि अहिले सम्म टुङगो भने लाग्न सकेको छैन । दोषि पत्ता लाग्दा समेत प्रहरीले कुनै पनि कारवाही नगरेको आफन्तको आरोप छ । दुर्घटनामा परेर न्याय नपाएरै ज्यान गएको र अब पनि न्याय नदिइए आन्दोलन गर्ने बोहराको चेतावनी छ ।